
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–४ मा रहेको लाङटाङ उपत्यका नेपालको अत्यन्तै सुन्दर हिमाली गन्तव्य हो। यसलाई “स्वर्गको एक टुक्रा” पनि भनिन्छ।
लाङटाङ क्षेत्र रसुवा जिल्लामा पर्दछ र नेपालको तेस्रो प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनिन्छ।
लाङटाङ पहिले “लाङडाङ” भनिन्थ्यो, जहाँ ‘लाङ’ भनेको गोरू र ‘डाङ’ भनेको अघाएको भन्ने अर्थ हुन्छ।
लाङटाङ वा लामटाङ मानव वस्ती बस्नु पूर्व अवस्थामा ‘लाङडाङ’ नामले परिचित थियो । ‘लाङ’ को अर्थ तिब्बतीयन भाषामा ‘गोरू’ र ‘डाङ’ को अर्थ ‘अघाएको’ भन्ने हुन्छ ।
सुनिए अनुसार उहिले तिब्बततिरबार यहाँ एउटा गोरू भागेर आएको रहेछ । गोरूलाई खोज्दै एउटा गोठालो पनि पछिपछि आयो । खाम्जिङ कटेर नेसा: गाङ अर्थात् चौतारो पछाडि आईपुगेछि मात्र गोठालाले भेट्छ र गोरू बाँधेर राखेर आफू उत्तानो परेर पल्टिन्छ ।
गोठालो भुसुक्कै निदायो, ब्यूझेर हेर्दा गोरू त्यहाँ थिएन । गोरू बाँधिएको भनेको ढुंगाको प्वाल अहिलेसम्म पनि त्यहाँ छ । गोरू बाँधिएको ठाउँ हुनाले त्यसलाई लाङतासा (गोरू बाँधिएको) भनियो । गोरू खोज्दै गोठालो फेरि अघि बढ्यो, उसले गोरूलाई पूर्व (स्यार) तर्फ फर्केर सुतेको पायो । जसको कारण ठाउँको नाम पनि ‘स्यार्पोको’ रहन गयो भनिएको छ । त्यसैको अपभ्रम्शित रूप नै शेर्पागाउँ हो ।
गोरू फेरि अगाडि बढ्यो, चाङडाम (हाल- लामाहोटल) पुग्यो, चाङडामको अर्थ खोलाको किनार हुन्छ । त्यहाँबाट गोरू क्युर्पुनेसामा पुग्यो । क्युर्पु (अमिलो) डालेचुकको जंगल धेरै भएको र त्यसलाई गोरूले खाएको हुनाले ‘क्युर्पुनेसा’ भनिएको हो, जसलाई हामी आजभोलि घोडातबेला भन्छौं ।
गोरू समात्न नसक्दा गोरू अझै अगाडि बढ्यो, गोठालाले खोज्दै जाँदा घाँसपात, करू खाएर टन्न गोरू अघाएको भेट्यो । जहाँ गोरू अघाएको भेट्यो, त्यही ठाउँको नाम हो ‘लाङडाङ । जसको अर्थ माथि नै उल्लेख गरिसकिएको छ ।
अझै गोरू अगाडि बढ्दै जाँदा निकै पर पुगेपछि गोरूको यात्रा रोकियो, उसले भोटतिर फर्केर अर्को जन्म पनि भोटमा नै लिन पाउँ भनी प्रार्थना गर्दै देह त्याग गर्यो । गोरू मरेको हुनाले त्यस स्थानको नामाकरण लाङ (गोरू) सिसा (मरेको ठाउँ) – लाङसिसा रहन गयो ।
लाङटाङ क्षेत्रका मुख्यमुख्य वस्तीहरूमा शेर्पागाउँ, रिमिचे, लामाहोटल, रिभरसाइड, घोडातबेला, थाङ्स्याप, गोम्बा, लाङटाङ, सिम्बु, क्याञ्जिन गोम्बा पर्दछन्।
पहिलो हिमाली निकुञ्जको नामले मात्र हैन सायद नेपालमै पहिलो पटक याक चिज उत्पादन गर्ने ठाउँको नामले पनि परिचित छ लाङटाङ । पछिल्लो समयमा माउन्टेनियरिङ स्कूल निर्माण हुने कुराले पनि लाङटाङले झन् चर्चा पाउँदैछ । छिमेकी मुलुक चीनसँग कठालोमा बाँधिएको मुलुकको तेस्रो गन्तव्यले सांस्कृतिक, ऐतिहाँसिक, धार्मिक, पर्यटकीय तथा पर्यावरणीय यी सबै विधालाई उत्तिकै महत्व राख्दछ । यही क्षेत्रको गोसाइँकुण्डमा हुने धार्मिक मेला, क्याञ्जिन उपत्यकामा नाँचिने डुक्पा छेच्यु र यसका आपपासमा मनाईने विभिन्न सांस्कृतिक पर्व, कला संस्कृति तथा परम्पराले पर्यटकीय सम्बन्ध अझ गाढा र नजिक बनाउँदछ । विश्वमा नै दुर्लभ मानिएका रातो हाब्रे, हिमचितुवालगायतका जंगली जनावर, लालीगुँरास, लाङटाङे सल्लो तथा विविध प्रजातिका दुर्लभ वनस्पति अनि हिमश्रृङ्खला, नदीहरू यहाँका आकर्षणका केन्द्रविन्दु हुन् । यी सबैको उचित संरक्षण तथा व्यवस्थापन हुन सके युगौंसम्म धरतीभरिका आगन्तुकलाई डाकिरहनेछ यस लाङडाङले ।
लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने यस क्षेत्रमा दुर्लभ वन्यजन्तु र वनस्पति पाइन्छन्।
प्रलयका उथुलपुथुलले ठडिएका गगनचुम्बी हिमश्रृङ्खला, ग्ल्यासियर,
चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थल
कतै झुरूप्प त कतै अलि बाक्लो वस्ती,
पदमार्गका वरिपरि रहेका माने, छुर्तेन, गोम्बा, लाङटाङ राष्ट्रिय निकुञ्जको मनोरम छटा, लालीगुँरास, मार्गको नजिकै रहेको नदीको सुस्याहट, चराचुरूङ्गीको गायन, हिमचितुवा, घोरल, थारल, बँदेल, भालु, लङ्गुर बाँदर यहाँका मुख्य आकर्षण हुन् ।
लाङटाङ री, क्याञ्जिन री, यालापिक, लाङसिसाजस्ता पिक र खर्कहरू ।
चौंरी र भेडापालनको मुख्य क्षेत्र
नेपालकै पहिलो याक चिज फ्याक्ट्री
तिब्बतीयन / शेर्पा संस्कृति, भेषभूषा र रहनसहन पनि यहाँको आकर्षण हो ।
होटल, लज तथा रेष्टुरेन्टको व्यवस्था
गोसाइँकुण्ड, लाङटाङ (क्याझ्जिङ) धार्मिक रूपमा महत्वपूर्ण स्थान हो जहाँ हरेक वर्ष विभिन्न मेला लाग्छ।
लाङटाङ क्षेत्र प्राकृतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण क्षेत्र हो।
लाङटाङ क्षेत्र वर्षैभरि घुम्नका लागि उपयुक्त क्षेत्र हो भने फागुन-बैशाख, असोज-मंसीरका समय भने अझ बढी मनमोहक हुने गर्दछ ।