रसुवाको लुकेको रत्न: पार्वतीकुण्ड (आमाछोदिङ्‍मो)

📅 Published: Feb 21, 2026 🔄 Last Updated: Feb 24, 2026
🏷 धार्मिक स्थल, पर्यटकीय स्थल, मठ मन्दिर 📍 आमाछोदिङ्‌मो गाउँपालिका-३

⭐ मुख्य आकर्षण (Highlights)

प्रसिद्द साञ्जेन खर्क, साञ्जेन हिमाल, गणेश हिमालको काखमा अवस्थित पार्वतीकुण्ड मेला लाग्ने हिशाबले हेर्दा गोसाइँकुण्ड पछि दोस्रो स्थानमा पर्दछ ।

📘 पूर्ण विवरण

मानोसरोवर दर्शनपछि पुग्नैपर्ने ठाउँ

रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–गतलाङ गाउँको सिरानमा अवस्थित पार्वतीकुण्ड, जसलाई स्थानीय भाषामा “आमाछोदिङ्मो” पनि भनिन्छ, एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो। यही पवित्र तालको नामबाट गाउँपालिकाको नाम “पार्वतीकुण्ड” राखिएको थियो। तर राज्य पुनर्संरचनापछि स्थानीय भाषा र पहिचानलाई सम्मान गर्दै पहिलो निर्वाचित गाउँसभाले नाम संशोधनको सिफारिस गरेपछि गाउँपालिकाको नाम आमाछोदिङ्मो कायम गरिएको हो।

स्थानीय तामाङ समुदाय “पार्वती” लाई “आमा” र “कुण्ड” वा ताललाई “छोदिङ्मो” भन्दछन्। समुद्री सतहबाट करिब २५५० मिटर उचाइमा अवस्थित यो कुण्ड भूकम्पअघि कालो छानावाला घरहरूले सजिएको गतलाङ गाउँमाथि शान्त वातावरणमा रहेको छ।

⭐ आकर्षणहरू

👉 धार्मिक महत्व

पार्वतीकुण्डको धार्मिक कथा गोसाइँकुण्ड जस्तै हिन्दु र बौद्ध धर्ममा फरक–फरक रूपमा वर्णित छ।

🟢 हिन्दु धार्मिक मान्यता

वैदिक युगमा देवता र दानवहरूले समुद्र मन्थन गर्दा ‘हलाहल’ नामक कालकूट विष उत्पन्न भयो। उक्त विषले सृष्टि नै नष्ट हुने अवस्था आएपछि भगवान शिव ले विश्वरक्षार्थ सो विष पान गर्नुभयो। विष घाँटीमा अड्किएपछि उहाँको कण्ठ नीलो भयो र त्यसै कारण उहाँलाई ‘नीलकण्ठ’ भनियो।

घाँटीमा अड्किएको विषको डाहा शान्त पार्न शिवजी विभिन्न तीर्थस्थल हुँदै रसुवा आइपुगे। गोसाइँकुण्ड पुगेपछि उहाँको खोजीमा देवी पार्वती यस क्षेत्रमा आई विराजमान हुनुभएको जनश्रुति पाइन्छ। यही कारण यस कुण्डलाई अत्यन्त पवित्र मानिन्छ र यहाँ स्नान गर्दा मुक्ति प्राप्त हुने विश्वास रही आएको छ।


🟢 बौद्ध धार्मिक मान्यता

स्थानीय लामा गुरु तथा अग्रजहरूका अनुसार बौद्ध धर्मका महान गुरु गुरु पद्मसंभव (गुरु रिम्पोर्छे) ले मानव समुदायको शान्ति, अस्तित्व र मोक्षका लागि हिमालय क्षेत्रमा तपस्या गर्नुभयो।

तपस्याको प्रारम्भमा “सगुन” र समाप्तिपछि स्नानका लागि सबैभन्दा पवित्र जलको खोजी गर्ने क्रममा यस कुण्डको जल अत्यन्त पवित्र रहेको पत्ता लागेको जनविश्वास छ। त्यस्तै भारतको हिमाञ्चल प्रदेशमा अवस्थित ‘छोपेमा’ ताललाई पनि पवित्र जलको रूपमा मानिन्छ। यी पवित्र जलको प्रयोगले मोक्ष प्राप्ति सम्भव भएको विश्वास आजसम्म कायम छ।

यस कारण पार्वतीकुण्डमा स्नान गर्दा मोक्ष प्राप्त हुने धार्मिक आस्था अझै जीवित छ। गोसाइँकुण्डजस्तै यसको उत्पत्तिको स्पष्ट वैज्ञानिक विवरण नभए पनि जनश्रुतिले यसको महत्वलाई सुदृढ बनाएको छ।


🟢अन्तर्राष्ट्रिय धार्मिक सम्बन्ध

पछिल्लो समय मानसरोवर तीर्थबाट फर्किने भारतीय तीर्थयात्रीहरू समेत पार्वतीकुण्डमा स्नान गर्न आउने गरेका छन्। हिमाञ्चल प्रदेशको छोपेमा ताल र पार्वतीकुण्डबीच धार्मिक सम्बन्ध रहेको विश्वासले भारतीय भक्तजनको आकर्षण बढाएको छ।


🟢दिदी–बहिनी कुण्डको जनविश्वास

टिमुरेभन्दा माथि अवस्थित दुधकुण्ड (पेदाङ्छो) र पार्वतीकुण्डलाई स्थानीयहरूले दिदी–बहिनी कुण्डको रूपमा वर्णन गर्छन्। यस प्रकारका जनश्रुतिहरूले यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई अझ सुदृढ बनाएको छ।

🥾 कसरी पुग्ने?

यस कुण्डसम्म पुग्नका लागि अर्ध पक्की सडक रहेको छ । काठमाण्डौंबाट त्रिशूली- धुन्चे- स्याफ्रु- थाम्बुचेत- गतलाङ हुँदै यस कुण्डमा सजिलै पुग्न सकिन्छ ।

गतलाङ गाउँबाट करीब १ घण्टाको पैदल यात्रामा यहाँ पुग्न सकिन्छ । यहाँ तीर्थ आउँदा लेक लाग्ने वा उचाईबाट हुने समस्या हुँदैन । यातायातको पनि पूर्ण व्यवस्था भइसकेको यस कुण्डमा प्रचारप्रसारको माध्यमबाट धार्मिकसहितको पर्यटन विकास गर्न सकिन्छ ।

ℹ️ थप जानकारी


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/ourrasuw/public_html/wp-includes/functions.php on line 6131

Comments are closed.