नीलकण्ठ महिमा

✍️ डा. सत्यराज थपलिया,
नुवाकोट
Facebook

यो कुण्डको उत्पत्तिको कथा हिन्दु र बौद्द धर्ममा भिन्नाभिन्नै रहेको छ । दुवै धर्मअनुसार शिवजीले नै सिर्जना गरेका हुन् भनिएको छ । गोसाइँकुण्डबारे पुरा जानकारी
नीलकण्ठ महिमा
🟢 यो सामग्री रसुवाको कला संस्कृति, परम्परा, धार्मिक, ऐतिहाँसिक पक्षको खोजी, प्रवर्दन र संरक्षणका लागि तयार गरिएको हो । जसबाट आन्तरिक पर्यटन विकासमा समेत् सहयोग पुग्नेछ । – प्रकाशक
द्यौता दानवका “निकै दुःख पर्यो ” भन्ने सुनी प्रार्थना ।
खाएथे विष कालकूट जसले यो विश्व रक्षार्थमा ।।
त्यस्ता दक्ष, दयावतार भगवान् श्रीशंभुका पाउमा ।
श्रद्धा, भक्ति, सुभावले, प्रणयले अर्पन्छु सद्वन्दना ।।१।।
लेख्ने शक्ति दिँदै गजानन छिटै आई बसून् हातमा ।
मेधा शक्ति बढाउँदै शिव सदा मेरै बसून् माथमा ।।
बोलीमा त सरस्वती बसिदिऊन् मेरो छ यै प्रार्थना ।
पाऊँ शक्ति म “नीलकण्ठ महिमा ” लेख्दैछु सङ्क्षेपमा ।।२।।
दामी, सुन्दर, दिव्य रत्न सहसा क्वै कल्पका अन्त्यमा ।
डुब्दा क्षीर–समुद्रमा प्रलय भै बाँकी रहेनन् त्यहाँ ।
अर्को कल्प हुँदा पराजय भयो देवेन्द्रको नै जब ।
गर्थे राज्य सुरेन्द्र भै बलि स्वयं स्वर्लोकमा गै, तब ।।३।।
पाई दुःख अनेक देवगण ती घुम्थे मगन्ते हुँदै ।
सम्झी क्वै दिन दीननाथ भगवान् दौडेर आए रुँदै ।।
आफ्ना दुःख कहे, परे चरणमा, धेरै गरे प्रार्थना ।
पाऊँ राज्य भनी निवेदन दिए श्रीविष्णुका हातमा ।।४।।
सारा दुःख पुकार देवगणको सुन्दा स्वयं केशव ।
दुःखी भै त्यसको उपाय मनमा सोचेर सम्झी अझ ।।
केही हाँस्नु हुँदै मुसुक्क पहिले हेरेर द्यौतातिर ।
अर्ती बुद्धि सिकाउने नियतले आज्ञा भयो आखिर ।।५।।
हे देवेन्द्र ! उपाय भन्छु सुन क्यै कल्याणका खातिर ।
आफ्नो काम सबै सकेजति सधैँ जो पर्छ आफैं गर ।।
अर्काको भरमा परी हरघडी आफू बने निस्क्रिय ।
इच्छा पूर्ण हुँदैन, काम कहिल्यै बन्दैन है निश्चय ।।६।।
आफ्नो काम कुनै पट्याउँन परे मौका मिलाईकन ।
आफैं शीघ्र गएर शत्रुसँग नै सन्मित्रझै भैकन ।
सन्धी शर्त गरी मिलेर पछि त्यो आफै गरी विग्रह ।
आफ्नो स्वार्थ सुसिद्ध गर्न सजिलै सक्छन् सबैले अझ ।।७।।
आफै गै निज शत्रुकासँग अहो ! लत्रौँ कसोरी ? भनी ।
केही पीर नमान, भित्र मनमा चिन्ता नलेऊ तिमी ।।
यो दृष्टान्त निमित्त भन्दछु कुनै यौटा कथा लौ सुन ।
राम्रो ज्ञान सिकाउँनेछ यसले सोची मनैमा गुन ।।८।।
कोही एक किसानको घर थियो यौटा खुला सन्दुस ।
आई सर्प कुनै पसेछ त्यसमैँ लागेछ बिर्को अझ ।।
आफू बाहिर निस्कने नियतले दौडेर चारैतिर ।
खोज्थ्यो सर्प दुलो थिएन, बिचरो भोकै पर्यो, आखिर ।।९।।
खाना खोज्न यता उतातिर स्वयं घुम्दै त्यतै बाहिर ।
आयो एक कुनै मुसो नजिकमा त्यै गन्धले पन्नग ।।
ज्यादै हर्ष भई फुल्यो, तर स्वयं कैदी बनेको हुँदा ।
आफै नम्र भई मुसोसँग भन्यो गाँसेर धेरै फुदा ।।१०।।
अर्जी आज म गर्छु यो चरणमा यौटा कुरा हे मुसा !
सुन्नोस् ध्यान दिँदै तपाइँसँग नै गाँसे स्वयं मित्रता ।।
मेरो मीत हजूरनै हुनुभयो दुःखी छु ज्यादै म ता ।
काटी सन्दुस दाँतले अब छिटै पार्नोस् दुलो एउटा ।।११।।
यस्ता बात सुनेर टक्क अडिँदै सोचेर धेरै अझ ।
मूसो भन्दछ सर्पलाइ डरले कामी स्वयं थर्थर ।।
कैल्यै मीत हुँदैन शत्रु बुझ यो हे सर्प ! यस्ता कुरा ।
गर्छौ व्यर्थ, छँदैछ सर्प र मुसाको बीचमा वैरता ।।१२।।
आफ्नो रूप, उमेर, वर्ण, धन औ आचार, विद्या, बल ।
मिल्नै बेस छ हित्तचित्त अनि पो त्यो मित्रता टिक्दछ ।।
भन्ने नीति छँदैछ, शत्रुसँग सद्–विश्वास राखीकन ।
पारूँ सन्दुसमा दुलो म कसरी ? हे सर्प ! आफैं भन ।।१३।।
मूसाको निज बात यो सुनिसकी विश्वासका खातिर ।
गर्दै तीव्र विलाप विह्वल भई त्यो सर्प यो भन्दछ ।।
सुन्नोस् मीत ! हजूरले मसँग क्यै पर्दैन मान्नै डर ।
खोजे मिल्छ प्रमाण मुख्य यसको विश्वास नै हैन र ? ।।१४।।
साँचै हो हुनता कुरा हजुरले आज्ञा भएको सब ।
भन्छन् सर्पहरू मुसाकन कुनै मारेर खान्छन् तर ।।
मेरो यो मन पापतर्फ कहिल्यै लाग्दै नलाग्ने हुँदा ।
प्राणी मार्दिन, धर्म गर्छु, सबमा गर्दै दया, मित्रता ।।१५।।
अर्काको म कदापि गर्दिन कुरा यस्तो र उस्तो भनी ।
आफू बन्न, अरू बिगार्न कहिल्यै लाउँन्न चुक्ली पनि ।।
सम्झी कर्म म भोग्छु दुःख सुख यो जस्तै परोस् तापनि ।
दुःखीको उपकार गर्दछु सके हो धर्म ठूलो भनी ।।१६।।
जल्ले गर्छ विराम भोग्दछ उही त्यो दण्ड आफैं, जुन ।
औँलामा विष लाग्छ झर्दछ त्यही, झर्दैन अर्को सुन ।।
यौटाको अपराधले सकलमा त्यो दोष औँल्याउनु ।
राम्रो हैन भनेर मीतसँग यी धेरै कुरा के भनूँ ? ।।१७।।
मूसा खानु र पुत्र मार्नु मनमा ठानेर एकै सदा ।
सम्झी धर्म स्वयं हजूरसँग नै आफैं गरेँ मित्रता ।।
मार्थें झन् किन मीतलाइ म ? सधैँ कल्याण नै गर्दछु ।
पाऊँ निस्कन मीतकै शरणमा ऐले परेको म छु ।।१८।।
यस्तै नीति र धर्मका शुभ कुरा सुन्दा त त्यो सर्पको ।
सद्विश्वास तथा पत्यार मनमा मानी खुशी भो मुसो ।।
आफ्नै मित्र सहायतार्थ उसले काटी स्वयं सन्दुस ।
पार्यो प्वाल तुरून्त सर्प पनि त्यो आयो अहो ! बाहिर ।।१९।।
भोको सर्प थियो अनेक दिनको देखी नजीकै मुसो ।
सम्झन्थ्यो किन दुष्टले गुन ? कठै ! झम्टी सुलुक्कै निल्यो ।।
यस्तै हो बुझ राजनीति मुखले छोडी स्वयं गौरव ।
आफ्नो कार्य निमित्त शत्रुसँग नै झुक्नू स्वयं श्रेय छ ।।२०।।
अर्काको भर पर्नुहुन्न कहिल्यै कर्तव्यमा कर्मठ ।
बन्नै पर्छ तसर्थ काम फलको आसा नराखी गर ।।
हे देवेन्द्र ! बुझ्यौ कुरा ! अब छिटै फर्केर जाऊ सब ।
आफैं पौरख क्यै गर्यौ यदि भने मिल्नेछ त्यो वैभव ।।२१।।
भन्दै मुख्य रहस्य जो जति थियो सम्झाउँदै आखिर ।
अन्तर्धान भएर श्रीहरि गए, मर्मज्ञ भै वास्तव ।।
फर्के देव बुझेर तत्व त्यसको क्यै आँटिला भैकन ।
सन्धी शीघ्र गरे स्वयं बलिसँगै स्वर्लोकमा गैकन ।।२२।।
द्यौता दानव ती परस्पर मिली पीयूषका खातिर ।
गैह्रो सागर मथ्न निर्णय गरे मथ्ने भए आखिर ।।
उप्काए पछि मन्दराचल अहो ! ल्याए मदानी झुकी ।
यज्ञै भाग दिने सुनिर्णय सुनी नेती बने वासुकि ।।२३।।
हाले सागरमा महौषधिहरू ल्याएर लाखौँ टन ।
आँट्यो डुब्न तथापि पर्वत विना आधारले त्यै क्षण ।।
यो देखी कछुवा बनेर हरिले आफैं घुसी नीरमा ।
बोकेथे जब मन्दराचल अहो ! सर्स्युं सरी पीठमा ।।२४।।
लाग्यो ढल्वल गर्न पर्वत अझै आपत्तिको सम्भव ।
देखी थिच्नुभयो अजीत हुनु भै त्यै शैलको मास्तिर ।।
छाडे पुच्छर देवले तर शिरै रोजी स्वयं आखिर ।
लाग्दा मन्थन गर्न सर्प विषले काला भए दानव ।।२५।।
यो देखी पहिले छिटै सिमसिमे वर्षा गराई हरिः ।
निद्रारूप बनी प्रवेश हुनु भो नागेन्द्रमा त्यो पछि ।।
द्यौता दानवमा निकै बल बढ्यो क्यै मन्द हावा चली ।
ठन्डा भो अनि देह भित्र मनमा उत्साह ज्यादै बढी ।।२६।।
लागे मथ्न समुद्र ती असुर औ द्यौता मिली आखिर ।
प्राणीलाइ जलाउने जलधिको पैदा भयो कल्मष ।।
निस्केथ्यो जब कालकूट विष त्यो देखेर भै कायल ।।
छोडी मथ्न गए सुरासुर भए कैलासमा हाजिर ।।२७।।
पाए दर्शन शम्भुको अनि सबै द्यौता तथा दानव ।
साथै पाउ परे पवित्र मनले कल्याणका खातिर ।।
जोरे हात दुवै उठीकन कठै ! रोए सबै धर्धर ।
थाले बोल्न अहो ! तथापि डरले काम्दै थिए थर्थर ।।२८।।
छोरा कश्यपका सुरासुर सबै जम्मा भई बान्धव ।
थाल्यौँ मथ्न समुद्र हे शिव ! सुधा प्यूने थियो आशय ।।
पैदा भो तर कालकूट विष यो पोल्दैछ हे शङ्कर !
रक्षा गर्नु पर्यो, पर्यौं, शरणमा हाम्रो नमस्कार छ ।।२९।।
यस्तो आर्त पुकार भक्तगणको सुनदा स्वयं शङ्कर ।
भै सन्तोष भने अनिष्ट विषको केही नलेऊ डर ।।
रक्षा यो विषबाट गर्दछु भनी दी शीघ्र आश्वासन ।
हेरे त्यो विषतर्फ फेरि रिसले आँखा घुमाईकन ।।३०।।
यो नीलाञ्जन तुल्य भीष्म विषले बाधा गर्यो लोकको ।
रक्षा खातिर प्राण नै पनि दिनू यै धर्म हो साधुको ।।
भन्दै श्रीशिवले उमासँग स्वयं मागी छिटै सम्मति ।
हातैमा विष त्यो लिए, अनि पिए मुस्काउँदै घट्घटी ।।३१।।
निल्दामा निलिएन उग्र विष त्यो ओकल्नु झन् हुन्नथ्यो ।
घाँटीमैँ लिनु भो विपत्ति सहँदै रक्षार्थमा लोकको ।।
दुःखी माथि दया गरे गिरिशले सारा भए निर्भय ।
फर्के ढोगदिँदै समुद्रतिर नै सानन्द देवासुर ।।३२।।
लागे मथ्न समुद्र फेरि बलको बेजोड संघर्षले ।
थाले निस्कन चौध रत्न कतिले ती चीज बाँडी लिए ।।
निस्क्यो आखिरमा सुधा हरि स्वयं भै मोहिनी आखिर ।
द्यौतालाइ दिए अहो ! असुर ती सारा भए वञ्चित ।।३३।।
आफ्ना मानिस छन् भने यदि कुनै ठेगानमा निश्चय ।
बन्ला काम छिटो अवश्य उसको बेदाममा नै, अझ ।।
कोही छैन भने हुने पनि न भै हैरान पाई स्वतः ।
लोपे्र कान लगाउँदै घरतिरै फर्के भयो, वास्तव ।।३४।।
यस्तै हो व्यवहार यी जगतका टाठा र बाठा सब ।
हिँड्छन् मोज, मजा गरीकन स्वयं सोझा ठगिन्छन् स्वतः ।।
यो अन्याय भयो भनेर मुखले बोल्यो भने आखिर ।
पक्कै दण्ड सजाय मिल्दछ यहाँ यस्तै छ चल्ती, अझ ।।३५।।
नातावाद चल्यो र देव सबको इच्छा थियो जो जति ।
सारा पूर्ण भयो, यता गिरिशको बेहाल भो त्यो पछि ।।
थाल्यो पोल्न अतीव देह विषले श्रीशम्भुको भत्भती ।
नीलो कण्ठ भयो कठै ! विष बढी ज्यादै पर्यो छट्पटी ।।३६।।
आफैं दुःख खपी भलाइ जनको जो गर्छ त्यो साधु हो ।
भन्ने पाठ सिकाउँदै मनुजमा त्यो दुःख नै खप्नु भो ।।
नीलो कण्ठ लिएर विह्वल हुँदै घुम्दा सबै ठाममा ।
नामै भो अनि नीलकण्ठ शिवको प्रख्यात संसारमा ।।३७।।
लाई चन्दन औ कपूर पहिले सम्पूर्ण ती अङ्गमा ।
गङ्गा धारण गर्नुभो मुकुटमा राख्नै पर्यो चन्द्रमा ।।
डाहा शान्त भएन तैपनि अहो ! लाखौँ उठे तर्कना ।
आयो झट्ट पछाडि रुद्र मनमा नेपालको सम्झना ।।३८।।
हिन्दूराज्य पवित्र आर्यगणको नेपाल यो देशमा ।
गौरीले तप गर्दथिन् अघि जहाँ योगी सरी भेषमा ।।
बग्दामा उनकै पवित्र पसिना निर्माण भो जुन् रह ।
चाँडै गै अब स्नान गर्दछु त्यहीँ ज्यादै छ त्यो शीतल ।।३९।।
सेता उच्च हिमाल छन् टलटली टल्की रहेका जहाँ ।
औडाहा कम पार्न जान्छु अहिल्यै त्यै शान्तिक्षेत्रादिमा ।।
भन्दै तिर्सुल काँधमा र लहुरो ली वेतको हातमा ।
आए शङ्कर छट्पटाइ विषले शान्त्यर्थ नेपालमा ।।४०।।
हिँड्दा लाग्न गई थकाइ विषको झन् वेग बढ्दै गयो ।
उक्ली क्वै हिमशैल माथि लहुरो त्यो वेतको गाड्नु भो ।।
केही बेर बसी उठे तर त्यहीँ बिर्सेर लठ्ठी पुनः ।
बिस्तारै अझ माथि–माथि शिवजी थाले स्वयम् उक्लन ।।४१।।
लठ्ठी गाड्नुभयो जहाँ गिरिशले त्यो वेतको क्यै अघि ।
हो त्यैँ मूल फुटी कुवा पनि बन्यो त्यो कूपबाटै छुटी ।।
मीठो शब्द गरी बगिन् कलकली प्रख्यात वेत्रावती ।
गङ्गा पुण्यदिने यिनैकन सबै भन्छन् फलाँखू नदी ।।४२।।
यो देखी अति हर्ष भै ऋषिहरू सद्भक्ति ली चित्तमा ।
आए किन्नर, यक्ष, मानिस सबै वेत्रावती तीर्थमा ।।
न्वाए सज्जनले महेशजलमा आनन्द भै आखिर ।
‘गङ्गा वेत्र’ भनेर पूजन गरी फर्की गए ती घर ।।४३।।
जल्ले गर्छ सभक्ति स्नान शिवको वेत्रावती घाटमा ।
यद्वा यज्ञ र दान, ध्यान, जप वा श्राद्धादि गर्ला त्यहाँ ।।
पुर्खा क्वै त्यसका अधोगति भए उद्धार होलान् अझ ।।
चढ्दै दिव्य विमानमा शिवपुरी जाला स्वयम् आखिर ।।४४।।
हिँड्दै श्रीशिव सुस्त सुस्त गतिले शूलाद्रिको माथमा ।
लाग्यो प्यास तथा थकाइ अनि क्वै साथी नभै साथमा ।।
पानी माग्न मिलेन, तीव्र विषले खङ्रङ्ङ घाँटी सुक्यो ।
काम्यो लुग्लुग देह शक्ति नहुँदा जो आँटथ्यो त्यो लुक्यो ।।४५।।
आँखै हेर्न सकिन्नथ्यो वरिपरी राता, पहेँला अति ।
टाटा देखिन गो, असाध्य रिँङटा लाग्यो, स्वयं त्यो पछि ।।
गाडी तिर्सुल भीरमा गिरिशले सम्झेर गङ्गाकन ।
पारे प्वाल पवित्र निस्कनुभयो गङ्गा त्यहीँ तत्क्षण ।।४६।।
धुञ्चे पल्तिर पर्छ त्यो थल अझै भन्छन् भृगुपत्तन ।
गर्नू स्नान नदी किनार अथवा त्यै तीरमा तर्पण ।।
हेर्नू रुद्र–नदी पवित्र जलकी त्यै भीरबाटै तल ।
बग्दैछिन् पहरा हुँदै सुछहरा बन्दै, गरी छर्छर ।।४७।।
आफैं शङ्कर कालकाल जसको नामै छ मृत्युञ्जय ।
त्यस्ता श्रीशिवलाइ सम्म विषले बेहोस पार्यो स्वतः ।।
पर्दा त्यो विषको करामत कडा, बढ्दा निकै छट्पटी ।
देखी दिव्य नदी नजीक उनले पानी पिए घट्घटी ।।४८।।
ज्यादै निर्मल औ पवित्र पनि त्यो ठन्डा हुँदामा जल ।
घट्दै गो विषको प्रभाव, शिवमा केही भयो शीतल ।।
फक्र्यो तागत त्यै थकाइ कम भै क्यै आँट आयो अझ ।
पाए जीवन नै नयाँ अनि उँभो जाने गरे निश्चय ।।४९।।
बाटो कत्ति थिएन त्यो बखतमा देखी उकालो ठुलो ।
आफ्नै साथ थियो त्रिशूल शिवले खन्दै हिँडे खुड्किलो ।।
हो त्यै कारण नाम नै रहन गो खन्ती उकालो भनी ।
चढ्नै पर्दछ त्यो अझै पनि गए, त्यस्तै छ यो जीवनी ।।५०।।
जाने लक्ष्य उँभो–उँभोतिर थियो सम्झी मनैमा शिव ।
हाम्रै जीवनमार्गझैं असजिलो ठाडो उकालोतिर ।।
उक्लन्थे शिव चन्दनाचल हुँदै नीलाद्रिका फेदिमा ।
पुग्दा त्यो विष दाहले क्षुधित भै थाकी बसे क्यै क्षण ।।५१।।
गौरीका पसिना बगेर अघि नै जो धर्मधारा बन्यो ।
त्यो सम्झेर झलक्क भित्र मनले ध्यानादि क्यै गर्नु भो ।।
बढ्दै गो जब त्यो प्रभाव विषको पर्दै गयो तुल्बुली ।
घोचे तिर्सुलले फुट्यो जल अहो ! नीलाद्रिमैँ भुल्भुली ।।५२।।
धारा तीन त्रिशूलको जब बन्यो ठन्डा त्यही निर्मल ।
पानी जम्न गई बडो दह बन्यो नीलाद्रिमा सुन्दर ।।
खाल्टा आठ तथा अगाध गहिरो कल्लोलले शोभित ।
देखी दिव्य विशाल कुण्ड शिवजी ज्यादै भए मोहित ।।५३।।
बाधा त्यो सब कालकूट विषको संहारका खातिर ।
आफैं गै सय दिव्य वर्ष सुकला भो कुण्डमा शङ्कर ।।
नामैँ भो पछि नीलकण्ठ दह, त्यो गोसाइँथान् नामले ।
जो प्रख्यात छँदैछ आजतक नै देखिन्छ आफैं गए ।५४।।
धारा तिर्सुलको निकास हुन गै गङ्गा भइन् तिर्सुली ।
बग्दैछिन् छहरो परी कलकली त्यै कुण्डबाटै झरी ।।
कुण्डै भैरव जो बन्यो बुझ अझै देखिन्छ त्यो बाटुलो ।
अर्को कुण्ड सरस्वती पनि बन्यो केही तलै पर्छ त्यो ।।५५।।
आत्मा एक द्विधा गरेर शिवले रक्षार्थमा कुण्डको ।
श्रीलम्बोदर क्षेत्रपाल भनिने द्वारे दुई राख्नुभो ।।
आज्ञाले शिवको सुपश्चिमतिरै पाले बसे द्वारमा ।
रक्षा धार्मिकको गरी इतरमा दिन्छन् कडा यातना ।।५६।।
राम्रो उत्तम द्वार पर्दछ जहाँ शूलाद्रिको दक्षिण ।
पाखाको शिरमा अझै सुपहरा बस्छन् दुवै हर्दम ।।
भन्छन् मानिसले गणेश्वरकनै लौरीविनायक भनी ।
बस्छन् भैरव दण्डपाणिसँगमा त्यै द्वार थुम्का मनि ।।५७।।
कुण्डै जो छ सरस्वती सुजनले यो सम्झ हो वास्तव ।
दोस्रो नाम छ विष्णुकुण्ड त्यसकै निस्केर ठन्डा जल ।।
अर्को कुण्ड बनेछ ब्रह्मदह त्यो जो ढाँडमा पर्दछ ।
गैह्रो शीतल नीरले भरि छ रे हेर्दा निकै सुन्दर ।।५८।।
ज्यादै पुण्यमयी सुशीतल यिनै गङ्गा त्रिशूली अझ ।
झर्छिन् शब्द गरी स्वयं कलकली त्यो भीरबाटै तल ।।
आए धेर अहो ! ऋषिश्वरहरू त्यै भीरका तीरमा ।
खौरी केश लिएर भक्ति मनमा न्वाए पसी नीरमा ।।५९।।
साथै अग्नि कुवेर दानव तथा गन्धर्व यक्षै अरू ।
ब्रह्मा विष्णु र चन्द्र सूर्य जति छन् इन्द्रादि द्यौताहरू ।।
आई वायु र अप्सरागण सदा त्यै तीरमा भक्तिले ।
न्वाए, दान दिए, जपे, स्तुति गरे, ध्यानै गरी फर्किए ।।६०।।
छाडी मोह लिएर ज्ञान मनमा यी रुद्रगङ्गानिर ।
पूजा–पाठ गरे अवश्य जन त्यो निर्मुक्त होला बुझ ।।
स्त्रीले स्नान गरे बनी पतिप्रिया ऐश्वर्य शौभाग्यले ।
भै सम्पन्न सुपुत्र धान्य धनले तर्छन् छिटै भक्तिले ।।६१।।
बग्दै पश्चिमतर्फ ती कलकली पुग्दा त वेत्रावती ।
पूर्वैबाट बगेर आइ मिसिने अर्की फलाँखू नदी ।।
त्यै दोभान नजीक शङ्खमुलको भेटिन्छ तातो जल ।
गङ्गा तीन सँगै हुँदा सुजनले भन्छन् त्रिवेणी अझ ।।६२।।
श्रद्धा भक्ति लिएर भित्र मनमा जो बुद्धिमान् मानिस ।
गर्ला स्नान सबै अवश्य उसको नासिन्छ रे कल्मष ।।
अज्ञानी पनि स्नान गर्दछ भने निष्पाप भै आखिर ।
जाला स्वर्ग सरासरी पछि अझै होला धनी, धर्मिक ।।६३।।
श्रद्धा साथ लिएर श्राद्ध नरले वेत्रावतीमा गरे ।
पैलेका दश औ पछाडितिरका पुर्खा नि तर्छन् अरे ।।
सारा शास्त्र कहन्छ उत्तरगया वेत्रावती घाटमा ।
औँसी श्राद्ध अझै सुविज्ञ जनले गर्छन् सधैँ पौषमा ।।६४।।
दोस्रो मूर्ति महेशको अति ठूलो श्रीभीम क्वै कालमा ।
नाघी पर्वतस्नान गर्न सजिलै आए त्यही कुण्डमा ।।
काट्दा ब्रह्मशिरै कडा कलुषले कुष्टी भएका थिए ।
त्यै कुष्टाङ्ग निवृत्त पार्न जलमा सानन्द सुत्दा भए ।।६५।।
कालो गाजल तुल्य भैरव अहो ! ती भीमकै कारण ।
साँचै भैरवझैं भयो कलकले त्यो कुण्ड नै भीषण ।।
हेरे हेर्न हुनेछ, हेर अझ त्यो नीलो छ ज्यादैै अहो !
साथै सुन्न सकिन्छ शब्द सुरिलो कल्लोल वा छालको ।।६६।।
दुर्वासा ऋषिको सराप पहिले पर्दा मिली यादव ।
रक्सी पी अपराध आर्जन गरे भन्दा हुँदै व्याकुल ।।
पौँचे श्रीहरि नीलकण्ठ दहमा न्वाएर फर्की तल ।
पल्टे गैकन भारतीसँग, अझै क्यै माथि छन् भैरव ।।६७।।
देवी श्राप परी कलङ्कित बनी ब्रह्मा हुँदै व्याकुल ।
आए पाप विनाश पार्दछु भनी नाघी निकै पर्वत ।।
पाए दर्शन नीलकण्ठ दहमा डुब्की लगाई अझ ।
पूजा दान गरी पवित्र जलमा आफैं सुते क्यै तल ।।६८।।
ब्रह्माजी सुकला हुँदा सुन सखे ! त्यो विष्णुकुण्डै तल ।
राम्रो उज्वल ब्रह्मकुण्ड पनि भो ज्यादै छ त्यो शीतल ।।
पल्टे दिव्य हजार वर्ष जलमा ब्रह्मा हरिः शङ्कर ।
छाडी अंश त्यहीँ स्वधामतिर नै फर्के सबै आखिर ।।६९।।
आए त्यो पछि त्यै पवित्र जलमा सद्भक्तिले कश्यप ।
मार्कण्डेय, वशिष्ठ, धौम्य, भृगुजी, दक्षादि श्रीनारद ।।
भारद्वाज, पुलस्त्य, शक्ति, मनु औ ती उध्र्वरेता त्यहाँ ।
आए अत्रि, मरीचि, गालव सबै सामान ली हातमा ।।७०।।
साथै दानव, देवता सँगसँगै गन्धर्व औ किन्नर ।
कैयौँ यक्ष, पिचास, राक्षस तथा ती योगिनीका दल ।।
सम्झी ओं नम नीलकण्ठ दह वा गोसाइँथानैतिर ।
जाने आशयले हिँडे सब जना भन्दै उमा ! शङ्कर ! ।।७१।।
पैले स्नान गरेर यात्रु सबले वेत्रावती घाटमा ।
साथै श्रीशिव सम्झदै अघि बढे साथी लिई साथमा ।।
उक्ली पर्वत सुस्त सुस्त जब ती पुग्दै थिए कुण्डमा ।
टाढैदेखि झुकी सशक्ति–शिवको गर्दै गए वन्दना ।।७२।।
पौँचेथे जब कुण्डभित्र सबले डुब्की लगाईकन ।
न्वाए, मन्त्र जपे, सके जति गरे क्यै दान औ तर्पण ।।
पूजा श्रीशिव शक्तिको सँगसँगै पञ्चोपचारै गरे ।
साष्टाङ्गादि प्रणाम साथ शिवमा बिन्ती गरे भक्तिले ।।७३।।
हे भूतेश ! उमापते ! पशुपते ! हे भर्ग ! हे शङ्कर !
हे सर्वेश्वर ! चन्दशेखर ! विभो ! हे रुद्र ! गङ्गाधर ।।
हे विश्वेश्वर ! विश्वपालक प्रभो ! हे धर्मधारे ! शिव !
पाऊँ दर्शन नीलकण्ठ ! भगवन् ! हाम्रो नमस्कार छ ।।७४।।
यस्तै धेर सुप्रार्थना सुनिसकी श्रीपार्वतीका पति ।
निस्की त्यै दहबाट दर्शन दिए साथै लिई पार्वती ।।
पाई दर्शन यात्रुका गहभरी हर्षाश्रु धारा बहे ।
बारम्बार झुकी प्रणाम पदमा पैले गरे भक्तले ।।७५।।
यो देखेर दयानिदान शिवले भन्दा भए यात्रुमा ।
हामी हर्षित छौ दुवै शिव सती आई नुहायौ यहाँ ।।
श्रद्धा, भक्ति र प्रेमपूर्ण मनले हाम्रै गर्यौ पूजन ।
आजै यो वरदान दिन्छु सबमा यात्रीहरू हो ! सुन ।।७६।।
ज्ञाताज्ञात सबै छ पाप जति जो आजन्म जन्मान्तको ।
सारा नाश हओस् पराजय नहोस्, सम्पूर्ण तीर्थालुको ।।
इच्छा पूर्ण हओस् पवित्र मनमा सद्भक्ति नै होस् सब ।
पाऊँन् शान्ति सदैव जीवनभरी मैंमा मिलून् आखिर ।।७७।।
अर्काको धन, धर्म, दार रिसले हर्ने अधर्मी खुनी ।
दुष्टै होस् अथवा कुकर्म सजिलै गर्ने कुनै बैगुनी ।।
श्रद्धा भक्ति नहोस् ममाथि तर त्यो यो कुण्डमा क्वै दिन ।
आई गर्दछ स्नान, पूजन भने कल्याण होस् भन्छु म ।।७८।।
इच्छा ली फलको नुहाउँछ भने मिल्ला यसै जन्ममा ।
स्त्रीले स्नान गरे हुनन् पुरुष ती पक्कै पुनर्जन्ममा ।।
द्यौता बन्दछ नीलकण्ठदहमा गै स्नान गर्ने नर ।
होला मुक्त अवश्य गर्भतिर त्यो पर्दैन पक्कै बुझ ।।७९।।
पन्छी वा पशु आदि क्षुद्र पुतली कीरा फटयाङ्रा अझ ।
जुम्रा औ जड घाँस रूख लहरा सम्पूर्ण नै वास्तव ।।
बन्छन् भुक्त शरीरबाट दहको पानी छुनाले पनि ।
हुन्छन् मानिस, फेरि ब्राह्मण बनी मिल्छन् ममा नै तिनी ।।८०।।
पूरा होस् सबको मनोरथ सधैं कल्याण होस् अन्त्यमा ।
भन्दै हर्ष भई अनेक वर दी सम्पूर्ण ती यात्रुमा ।।
जाऊ फर्क भनी विदा दिनु हुँदै त्यै कुण्डका बीचमा ।
अन्तर्धान भई गए शिव सती गर्छन् सबै वन्दना ।।८१।।
भैरवकुण्ड नुहाउने जनहरू जस्तै हऊन् पातकी ।
जान्छन् भास्करझैं विमान चढदै कैलास भत्तैm सरी ।।
साथै ब्राह्मण भोजनादि जप क्यै दानादि वा पूजन ।
गर्दा श्राद्ध र होम, ध्यान फल त्यो बढ्नेछ झन् हर्दम ।।८२।।
विष्णुकुण्डै नुहाउने जन गई बस्नेछ वैकुण्ठमा ।
गौरीकुण्ड नुहाउने जन स्वयं जाला मणिः द्वीपमा ।।
जल्ले न्वाउँछ ब्रह्मकुण्ड उ सधैँ गै ब्रह्मलोक बस्तछ ।
फर्के स्नान गरेर हर्षित हुँदै तीर्थालु आफ्नै घर ।।८३।।
जल्ले न्वाउँछ नीलकण्ठदहमा पुर्खा त्यसैका तरी ।
जान्छन् आसिक क्यै दिईकन सबै कैलास ज्ञानी सरी ।।
एकै दर्शन मात्रले पनि अहो ! पाएर ठूलो फल ।
चाँडै चढ्छ विमानमा अमर भै स्वर्लोकमा बस्तछ ।।८४।।
साँचै न्वाउँन नीलकण्ठदहमा जाने प्रतिज्ञा गरी ।
हिँड्दामा हयमेधको पदपदै मिल्ला फलै त्यो घडी ।।
जल्ले जप्दछ नीलकण्ठ शिवको यो नाम रातोदिन ।
त्यो संसार अवश्य तर्छ यसमा पर्दैन चिन्ता लिन ।।८५।।
बत्ती बाल्दछ जो लगेर घिउको गोसाइँथानमा गई ।
यद्वा ब्राह्मणलाइ भोजनहरू जो दिन्छ श्रद्धा लिई ।।
न्वाई तर्पण पूजनादि जप वा जो श्राद्ध गर्ला त्यहाँ ।
यस्तै नै फल मिल्छ भन्न मुखले को सक्छ संसारमा ? ।।८६।।
अर्थात् नाश हुँदैन पुण्य त्यसको आजन्म जन्मान्तको ।
सारा पाप पखालिएर शिवमा सारूप्य भै मिल्छ त्यो ।।
जाँदैमा जब नीलकण्ठ दहको जो मर्छ बाटैतिर ।
त्यो जानेछ तुरून्त दिव्य गतिले कैलासमा, आखिर ।।८७।।
साडे तीन करोड तीर्थ जति छन् सम्पूर्ण संसारमा ।
बस्छन् गैकन नीलकण्ठदहमा आए जनैपूर्णिमा ।।
मेला लाग्दछ भव्य वर्ष दिनको अद्यापि यै कुण्डमा ।
जान्छन् सज्जन ती नुहाउन सबै विश्वास ली धर्ममा ।।८८।।
कोही मानिस जेठको दशहरा आए त्यही कुण्डमा ।
गर्नै स्नान र पूजनादि सजिलै इच्छा लिँदै चित्तमा ।।
जान्छन् हिँड्न निकै हुनेछ सजिलो वर्षा विनाको दिन ।
शोभा हेर्न सकिन्छ क्यै प्रकृतिको राम्रो हुँदा मौसम ।।८९।।
गङ्गा सागर वा प्रयाग यमुना त्यो नैमिषारण्यमा ।
जाँदा जो जति पुण्य हुन्छ त्यसको कोटी गुणा कुण्डमा ।।
गर्दा स्नान अवश्य मिल्छ फल त्यो लाखौं गया श्राद्धको ।
मान्छे भैकन नीलकण्ठ नगए जन्मेर पो के भयो ? ।।९०।।
मान्छे हो ! यदि नीलकण्ठ दहमा जाने उठे कल्पना ।
क्यै होला कि ? भनेर देह घरको चिन्ता नल्यौ चित्तमा ।।
चर्को ईश्वर भक्तिभाव भरिलो विश्वास राखी सब ।
खोज्नू सामल साथ खर्च पनि क्यै चाहिन्छ जो वास्तव ।।९१।।
कोही मानिस चाउचाउ सँगमा लान्छन् कुनै बिस्कुट ।
लैजान्छन् कति दालमोट अथवा क्वै सातु लान्छन् अझ ।।
घ्यूच्यूरा सँगमा अचार तिलको बोकी लगे निश्चय ।
लाग्दा भोक तुरून्त खान सजिलो पर्नेछ है, आखिर ।।९२।।
आफ्नो देश र काल अर्थ अथवा क्यै आय वा आर्जन ।
हेरी ताम्रदियो, त्रिशूल अनि त्यो यौटा बसाहा किन ।।
केही औषधि शूलको, वमनको, केही जरोकै भयो ।
साथै लान सके कुनै दिन कतै क्यै काम लाग्नेछ त्यो ।।९३।।
पानी पर्छ अहो ! सधैँ सिमसिमे छाता लगे सिर्सिर ।
लाग्दा स्याँठ भिजाउँनेछ कपडा फर्किन्छ आफैं कि त ।।
लैजान्थे अघि ओड्न निम्ति घुम नै ऐले नयाँ प्लाष्टिक ।
वर्साती अझ भिर्नलाइ सजिलो मान्छन् सबै मानिस ।।९४।।
बत्ती, धूप, अबीर, जौ, तिल, जटा, श्रीखण्ड वा केशरी ।
गाईको घिउ, वेलपत्र, पकडा, कर्पूर खोजीवरी ।।
आफैं पार सबै कसेर पहिले पोको तथा पन्तरो ।
भारी ठिक्क मिलाउनै त खकने झोला भए बेस भो ।।९५।।
जाडो हुन्छ निकै उँभोतिर सके राडी तथा कम्बल ।
लैजानू, नसके लगाउनु कुनै बाक्लो नयाँ स्वेटर ।।
आफ्नो इच्छित चीजबीज सब त्यो जो पर्छ आवश्यक ।
आफ्नै साथ लगे अवश्य कहिल्यै पर्दैन क्यै आपद ।।९६।।
छाडी त्यो रिस राग आदि पहिले कल्याणको खातिर ।
ढोग्दै माग विदा पवित्र कुलका द्यौतासँगै आखिर ।।
सम्झी ओं नम नीलकण्ठ मनले गर्दै सदा चिन्तन ।
साथी क्वै सँगमा लिई सँगसँगै हिँड्नू खुशी भैकन ।।९७।।
धुञ्चेसम्म पुर्याइदिन्छ बसले आराम साथै अब ।
कल्ले गर्छ र पाउकष्ट ? अहिले हिँड्दैन क्वै पैदल ।।
भै गो मोटरमैं गए पनि छिटो वेत्रावतीमा अझ ।।
ओर्ली पश्चिमतर्फ पैदल हिँडी जानू त्रिवेणी तट ।।९८।।
दाह्री, केश समेत मुण्डन त्यही वेत्रावतीमा गरी ।
ली सङ्कल्प नुहाउनू हृदयले सम्झी सदा श्रीहरिः ।।
श्रद्धाले ऋषितीर्थमा अनि स्वयं गङ्गा गरी पूजन ।
विस्तारै शिव सम्झँदै गर सबै शूलाद्रि आरोहण ।।९९।।
खाना खान भने बमोजिम निकै पैसा तिरे वास्तब ।
मिल्छन् होटल मिल्नता तर त्यहाँ के शुद्धता हुन्छ र ?
त्यस्तै क्वै लजमा सुते त उपियाँ टोक्छन् कि जुम्रा अझ ।
एलर्जी नभए अवश्य पनि त्यो लूतो भने सर्दछ ।।१००।।
खोज्दा चीज बजारमा अब कतै पाइन्न केही सफा ।
ताजा, शुद्ध, पवित्र यो छ लिनुहोस् भन्छन्सबै भन्न ता ।।
त्यो विज्ञापन के पत्याउनु ? कठै ! नाफा बटुल्ने कुरो ।
चर्को मूल्य तिरेर रोग सबले बेसाउँदैछौं, अहो ! ।।१०१।।
धुञ्चे पल्तिर क्यै पुगेर पहिले त्यै भीरका तीरमा ।
न्वाई तर्पण पूजनादि गर है ? भै शान्त सन्नीरमा ।।
खाली पेट सकिन्न हिँड्न सजिलै, खाएर खाना अब ।
बिस्तारै शिवनाम कीर्तन गरी खन्ती उकालो चढ ।।१०२।।
चढ्दा पर्वत प्राणवायु अथवा पुग्दैन अक्सीजन ।
स्वाँ स्वाँ हुन्छ त्यसै हुँदा बुझ कुरा वाक्वाक लागीकन ।।
वान्ता हुन्छ कि लाग्छ धेर रिङटा यद्वा दुखी टाउको ।
ग्लानी हुन्छ शरीरमा बल घटी बन्दा बिरामी छिटो ।।१०३।।
बोक्ने मानिस खोज्नु पर्दछ कुनै पाइन्छ पैसा तिरे ।
पैसाले नहुने कुरा जगतमा केही कतै छैन रे ।।
मान्छे दास सरी बनेर विचरो आर्जन्छ केही धन ।
जम्मा पार्दछ लोभले अझ स्वयं सक्तैन त्यो खर्चन ।।१०४।।
मौरीले मह तुल्य खर्च नगरी साँचेर राखे धन ।
गोठालो सरी बन्नुपर्छ दुःखमै बित्नेछ यो जीवन ।।
भन्ने तथ्य बुझी खुला हृदयले क्यै खान वा लाउन ।
आफ्नो स्वार्जित द्रव्य दान गरनू त्यागेर कालो धन ।।१०५।।
रित्तो पेट नराख्नु क्यै छिनछिनै खानू रुचेको जति ।
लागे चक्कर क्यै लिएर हरियो सुँघ्नू सफा कागती ।।
वीरेनून, मरीच, ज्वानु, अदुवा यद्वा कुनै पाचक ।
खानू पेट दुखे, कि ता लसुन नै मर्काउनै बेस छ ।।१०६।।
नाघ्दै चन्दन बारि सुस्त शिरमा पौंचेर शूलाद्रिको ।
शोभा हेर्न नबिर्स है ? प्रकृतिको, राम्रो छ ज्यादै, अहो !
धेरै रङ्गविरङ्गका सुमन ती देखिन्छ चारैतिर ।
साँचै शान्ति दिने सुदृश्य छ जता हे¥यो उतै सुन्दर ।।१०७।।
लौरी सुम्प लगी विनायककनै श्रद्धा लिँदै चित्तमा ।
गर्नू तीन परिक्रमा सँगसँगै सद्भक्तिले प्रार्थना ।।
हे हेरम्ब ! गणेश ! विघ्न नपरोस् आलस्य मेरो मरोस् ।
पाऊँ दर्शन नीलकण्ठदहको भिक्षा यही बक्सियोस् ।।१०८।।
भन्दै पाउ परी घुमी वरिपरी साष्टाङ्ग ढोगीकन ।
हिँड्नू फेरि महेशकै हृदयमा गर्दै सदा चिन्तन ।।
होला दर्शन कुण्डको जब छिटो पस्रेर त्यै भूमिमा ।
श्रद्धा भक्ति लिएर भित्र शिवको गर्नू झुकी वन्दना ।।१०९।।
सम्झी शङ्कर पुग्नु श्रावण सुदी त्यो पूर्णिमाको दिन ।
गर्नू स्नान र तीन पल्ट जलमा डुब्की लगाईकन ।।
सन्ध्या तर्पण श्राद्ध पूजन सकी सत्पात्र क्वै ब्राह्मण ।
डाकी शक्त्यनुसार दान दछिना देऊ सके हर्दम ।।११०।।
जप्दै मन्त्र भलो सशक्ति शिवको पूजा तथा प्रार्थना ।
गर्नू भक्ति भरेर भित्र उनकै साष्टाङ्ग सद्वन्दना ।।
साथै उत्सुक भै सदैव शिवकै सद्रूपकै चिन्तन ।
गर्दा दर्शन मिल्छ शुद्ध दिलमा फिर्नू खुशी भैकन ।।१११।।
जानै बेश छ तीन पल्ट यसरी गोसाइँको कुण्डमा ।
एकै पल्ट गए पवित्र मनमा राख्नू सधैँ सम्झना ।।
भन्ने स्कन्दपुराणको सुरसिलो त्यो हैमवत्खण्डको ।
साथै भागवतादि ग्रन्थगणको सारांश सारेर यो ।।११२।।
लेखें प्रस्तुत नीलकण्ठ महिमा प्रष्ट्याउने पुस्तक ।
गल्ती, भूल, कमी, अशुद्धि यसमा होलान् निकै निश्चय ।।
ती मेरा अनभिज्ञता सुजनले शुध्याउँनेछन् अब ।
यो सानो शुभ कोशकाव्य शिवमैं अर्पी विदा हुन्छु, ल ।।११३।।
विमल सलिल ठन्डा शैल शोभा सुदिव्य ।
अलिक पवन चल्ने ठाउँ हो दर्शनीय ।।
अतिशय महिमाले युक्त नेपाल भित्र ।
अझ पनि रसुवामैं पर्छ यो कुण्डचित्र ।।११४।।
सकल अघ पखाल्ने पुण्यदाता महान ।
गिरिश रचित पैलो तीर्थ गोसाइँथान ।।
तिर गमन गरेमा जन्मिएको छ सार ।
भनिकन नित बिन्ती गर्छ यो सत्यराज ।।११५।।
रचना : २०४३-६-१५
लहरेपौवा, रसुवा
यो पनि हेर्नुहोस्


💬 Comments
Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/ourrasuw/public_html/wp-includes/functions.php on line 6131
📘 Facebook Comments