आमाको महिमा

आमा सम्बन्धि केही महत्वपूर्ण कविताहरू

आमा हुन् जगकी दयामय कला आदर्शकी आदर
आफ्नो सिर्जनमा सुहाइ रहने मातृत्वकी सागर ।
खाई कष्ट डटेर जीवन दिइन् संसार सारा भरिन्
मायाका अनुरागले भुवनमा कल्याण ठूलो गरिन् ।।

आमाकै अनुराग प्यार ममता यो सृष्टिको सार हो
आमाकै दशधार भित्र रहनू यो एक आधार हो ।


डा. ओमवीरसिंह बस्न्यातद्वारा सिर्जित ‘आमा’ खण्डकाव्यको आमाको महिमा/परिचय दर्शाउने यो कविताबाट यो लेख उठान गरिएको छ । डा. बस्न्यातको आमा खण्डकाव्यको यो कविता, कवितामा मात्र सिमित छैन । अत्यन्त आदर्शको शब्द, सबैका जन्मदाता आमाको प्रतीकको रूपमा यो कविता रहन्छ । नेपाली साहित्यकारहरूको सिर्जना मध्येको आमाको परिभाषालाई प्रतिबिम्बित गर्ने हरफहरूका प्रतिनिधि हरफहरू पाइन्छन् उनका कवितामा ।

पृथ्वीका सबै सजीव प्राणी पृथ्वीमा देखापर्नैका लागि पनि आमा चाहिन्छ । आमाको सहायताले नै भरखर जन्मेको एक बालकले जीवन पाउँछ ।

आमा जीवनको पहिलो व्यक्ति, जसले दश महिनासम्म गर्भमा पीडा र खुसीका साथ लिएर हामीलाई जीवन प्रदान गर्नुहुन्छ । त्यसैको फलस्वरूप हामी आमाको त्यही दुःखको स्मरण गर्दै सम्मान प्रकट गर्दछौं । बैशाख कृष्ण अमावश्याका दिन आमाको दुधको भारा तिर्नका लागि विभिन्न परिकारका खानेकुरा र राम्रो लाउन दिएर खुसी बनाउने गर्छौं ।

‘आमा त्यो आउँछ र ? हो बा त्यो आउँछ, त्यो बिहानीको सूर्यझैं उज्यालो छर्दै आउँछ ।’ अर्को प्रतिनिधि कविता साहित्यकार गोपालप्रसाद रिमालको आमा’ वाङ्‌यमा आमा र छोराको परिवर्तनशील यो वार्तालाप हो । नेपाली साहित्यकारहरूले आमालाई विभिन्न तरिकाबाट कवितामा उतारेका छन् ।


झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्
भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन् ।
—- कवि कृष्णप्रसाद भट्टराई

पृथ्वीभन्दा को ठूलो भारी हुन्छ महान
पृथ्वीभन्दा पनि ठूली जननी जान महान ।।


साहित्यकार लक्ष्मीदत्त भट्टले लेख्नुभएको ‘आमाको स्मृति’ बाट लिइएको यी दुई हरफले पनि आमाको महिमा उल्लेख गरेको छ । पृथ्वीभन्दा पनि ठूली आमाको महिमालाई त्यस काव्यमा पनि धेरै चर्चा गरिएको छ ।

माथिका केही प्रतिनिधिमूलक कविताका हरफबाट आज आमाको मुख हेर्ने दिनमा आमाको महिमा सम्झने प्रयास गरें । जन्म दिएर हामीलाई मानिसको आकार बनाइदिने महान् आमालाई सद्भाव र सम्मान दिने न त कुनै शब्द छन्, न त गर्ने केही व्यवहार नै । जति सम्मान, मान र मर्यादा गरे पनि आमाको ऋण तिर्न सकिन्न । आमा हाम्रा लागि धरती हुन्, हामी उहाँका सन्तान ।


त्यस्तै साहित्यकार/डा. नवराज लम्सालले आमालाई भन्नुभएको छ –

दुख्दा सबै दुख्ख दु:खेर जान्छ
जाँदा उसैले सब दुख्ख लान्छ ।
यो देश तिम्रै सपना सँगाल्छ
आमा नरोउ अब घाम लाग्छ ।।

  • तर घाम लाग्ने छाँट देखिएन ।

आमासँग सम्बन्धित केही कविताहरू

कवयित्री – प्रभा भट्टराई

आमा श्रृष्टि फुलाउने हृदयको,स्वर्गीय झंकार हुन् !
रच्ने सिर्जनवाग यो झिलिमिली आमा कलाकार हुन् !!
आमा नै नभए हुँदैन रचना, आमा बिना के छ र ? !
आमाकै प्रिय कोखबाट जगमा, जन्मे स्वयम् ईश्वर !!

आफ्नो जीवन मृत्युको पनि कठै, पर्वाह छोडीकन !
सक्छिन् यत्न गरेर भर्न जननी निर्जीवमा जीवन ।
आफू जोखिममा परेर अरूको उद्दार को गर्छ र ?
आमा कर्मठ स्वार्थहीन जगकै श्रष्टा र संरक्षक ।।

बाँड्छिन् सन्ततिमा बराबर गरी माया र श्रद्दायिनी !
छातीमा छहरा सुधारसभरी सञ्चार गर्छिन् यिनी !!
जस्तै दुष्ट कपूतको पनि यिनी, गर्छिन् भलो उत्तिकै !
चाहे पुत्रकुपुत्र होस् जगतमा, हुन्नन् कुमाता कतै !!

आमा छन् घरमा भनि घर भयो, सम्पन्न औ सुन्दर !
आमा कै मृदुमोहमा रहरिलो , स्वर्गीय कहाँ छ र ?
आमाको महिमा नभै त कविले रोएर भन्दैनथे
आमा बालककी नमार भगवान् संसार तर्ने भए ।।

आमा हुन् ममतामयी सहृदयी, वात्सल्यकी निर्झरी !
लाखौं यत्न गरुन् तथापी अरु केई, लाग्दैन आमा सरि !!
हुन्छन् शब्द अनेक जगतमा, प्यारा र राम्रा तर !
यौटै शब्द छ शब्दकोश भरिकै, आमा आहा सुन्दर ..!!


✍️भीमा खनालको – खोज्दै छु आमा

आमा भोक तृषा र भोजन सबै पीयूषकी गागर
आमा प्रेम दया असीम ममता वात्सल्यकी सागर
आमा तीर्थ सबै यही भुवनकी आदर्शकी हुन् चर
चारैतर्फ पवित्र हुन्छ जहिले आमा भएको घर ॥ १

बस्छिन् यी घरमा बनी सुरसिली उल्लास आनन्दमा
सम्झिन्छिन् मनमा समान सबमा सन्तानका साथमा
आमा हुन् हर दुःख दर्द सहने सन्तानका खातिर
दिन्छिन् जीवन दान प्राण सहजै सन्तानमा आखिर ॥ २

ऊर्जा हुन् घरकी अपूर्व महिमा आत्मीय माया दिने
आमा हुन् दिनरात कष्ट सहँदै आनन्द बर्साउने
लक्ष्मी हुन् घरकी विशुद्ध मनकी विश्वासकी सारथी
निष्ठाकी नमुना हरेक जनमा गर्छिन् पुजा आरती ॥ ३

आमा हुन् जगकी सुरम्य सरिता सौभाग्य हुन् सार हुन्
मूली हुन् घरकी सफा हृदयकी सम्मान हुन् मान हुन्
खप्छिन् भोक थकान भित्र मनका बिर्सेर सारा दिन
आमाकै प्रिय लाग्छ काख जहिले हर्सेर मेरो मन ॥ ४

तिम्रै ज्ञान लिएर नै म गुनिलो बन्दै छु आमा यहाँ
तिम्रै दीप्त प्रकाशले म बलियो बन्दै छु आमा यहाँ
आमा दूर हुँदा असाध्य जहिले तड्पिन्छ मेरो मन
आमा नै मनभित्र यो समयमा खोज्दैछु दैनन्दिन ॥ ५



कवि जीवनहरि शर्मा 

आमा हुन् पृथिवी धरा र जननी यो विश्वकी शारदा
प्राणी सन्तति हुन् सबै जगतका वात्सल्य मौलाउँदा
आमा हुन् धरती र गाउँ घरकी बस्ती  अध्यारो हुँदा
न्यानो हुन्छ असाध्य मातृ ममता बाबू भनी भन्दिँदा।।

आमा काख समान हो धरणीमा पल्टेर गिज्याउँदा
जिब्रो  स्वाद  चपाउने  वदनका ती दन्त  देखाउँदा
आमा हुन्न भने रहन्छ र कहाँ यो सृष्टिको  काइदा
खुट्टा टेक्नु स्वयम् नटेक सबका भन्ने सुझावै दिँदा।।

आमाको स्वर भावना हृदयको बोली र भाषा कला
आमाका करले  सिकाउछ सधैँ  सत्कर्मका  पाइला
आँखा ज्योति समान हुन् सुपथमा यो विश्वमा आउँदा
के बज्लान् मन मन्दिरै र घरमा कारुण्य सिद्ध्याउँदा।।

आमाका न विकल्प छन् जगतमा त्यो सत्य तेर्स्याउँदा
प्यारो हुन्छ  असाध्य मातृ  ममता सामिप्य  मै आउँदा
आमाको   अनुवादका  पृय  कथा  लेखेर  यो  गाउँदा
सुन्नेमा अझ भक्ति भक्त महिमा सङ्गीत रन्काउँदा।।

आमाका पृय बात अर्ति उपमा हुन् सत्य पत्याउँदा
इच्छा मात्र थिएन सन्तति  सुधा देखेर अर्थ्याउँदा
आमा  धीर भएर   दुःख पिरमा  सामर्थ्य  देखाउँदा
आफ्नो सन्तति नीद भित्र छ भने सम्झेर ब्यूझाउँदा।।

आमाको व्यवहार काम शिरमा राखेर  हिँड्ने  सदा
आशीर्वाद लिएर हिँड्दछ भने त्यो चन्द्रमा उक्लँदा
सारै सङ्कट  भो भने  मनुजले  ऐया भनी सम्झँदा
प्यारो काख समात डाक घरमा आमा सबैका छँदा।।


युगकवि : सिद्दिचरण  श्रेष्ठ

आमा ! तिमी जन्म दिने मलाई
आमा ! तिमी प्राण दिने मलाई
आमा ! तिमी बोट, म फूल त्यस्को
हो दान तिम्रै जति जे छ मेरो ।

आमा छ तिम्रो महिमा अपार
सिद्धिन्न गाए पनि बारबार
हर्दम बहाईकन प्रेमधारा
दिन्छ्यौ मलाई कतिको सहारा ।

असङ्ख्य तिम्रो गुणको निमित्त
केही कुरा छैन दिने मबाट
संसार यो जति सजाउने छु
सपूत तिम्रो कहलाउनेछु ।

बिग्रिरहेको म बनाई दिन्छु
सारा रुनेलाई हँसाइ दिन्छु
ज्ञानी भई नाम कमाई उच्च
बन्नेछु तिम्रो म सुयोग्य पुत्र ।


कवि- कृष्णप्रसाद भट्टराई

धर्तीमै छ सबै चिज खोजे मिल्छ घरीघरी
तर जन्मदिने “आमा” पाइँदैन कसैगरी ।
झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्
भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन् ।

जिन्दगी बन्छ आमाले खाएको गाँसगाँसमा
सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा ।
कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन्
तातेताते भनी मीठो तोते बोली सिकाउँछिन् ।

राखेर काखमा नानी कहिले गीत गाउँछिन्
बालो सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन् ।
नानी उठ्छ भनी राति अल्पअल्प निदाउँने
नानी रुन्छ भनी चाँडै अन्तबाट बिदा हुने ।

नानीकै साथमा खेल्छिन् काखकाखै नचाउँछिन्
आमाले नै विधाताको सृष्टिलाई बचाउँछिन् ।
‘को खा को खा’ भनी खाना नानीलाई खुवाउँछिन्
बगाई दूधको धारा शिशुलाई नुहाउँछिन् ।

मातृवात्सल्य रित्तिन्न जस्तै दुःख भए पनि
बचरा गुँड छोडेर टाढाटाढा गए पनि ।
आमाको रूप बिग्रन्छ सन्तान जन्मिएपछि
सन्तान पर भै जान्छन् डोलीमा अन्मिएपछि ।

तैपनि हुन्छ यो सारा आमाका निम्ति गौरव
आमा निःस्वार्थ देवी हुन् कसरी नभनूँ अब !
जिन्दगानी रहेसम्म आँखाले देख्न पाउलान्
आफ्नो शक्ति भए मान्छे सेवामा जुट्न आउलान् ।

धर्तीमै छ सबै चीज खोजे मिल्छ घरीघरी
तर जन्म दिने आमा पाइँदैन कसै गरी !!!!!


, ,

तपाईको सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *