मुनामदन: मदन र मुनाको विरह कथा | लक्ष्मीप्रसाद देवकोटा

★★★★★

📖

मुनामदन

✦ महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर खण्डकाव्य ✦

‘मुनामदन’ महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित नेपाली साहित्यको एक अमर खण्डकाव्य हो। यो कृतिमा मदन र मुनाको प्रेम, विरह, भोट यात्रा, हैजाको प्रकोप र अन्त्यमा मुनाको मार्मिक मृत्युको कथा वर्णन गरिएको छ। यो केवल एउटा प्रेमकथा मात्र नभई नेपाली समाज, संस्कृति, दरिद्रता र श्रमको पनि जीवन्त चित्रण हो।

🙏 समर्पण

हे मेरा भाइ! हे मेरा बहिनी! पहाड शहरमा,
यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा।
अरु ता मैले के गर्न सक्थेँ! अपढ-अज्ञानी,
आँसुले भिजेको यो फूल गाँसेँ नजानी नजानी।

घाम र छाया-बीचमा फुल्यो मनको फूलबारी,
सपनाभित्र फुलेको ल्याएँ बिपना ओसारी।
यिनको वास बिर्साइदिन्छ वरको परको,
आँसु र हाँसो मिसाइदिन्छ सबका घरको।
जो मैले गुँथेँ पहिर भाइ! पहिर बहिनी!
प्रेमका गलामा नवैलिजाओस् भक्त हुँ म पनि।

नेपाली माटो स्वर्गको किरण भरेर झन्क्यो मूल,
नेपाली वास्ना भएर निस्के अत्तर देशी फूल,
एकान्त वनमा फूलपरी रङ्गमा पस्सिए फुर्फुरी,
एक लहर टिपी चढाएँ, नाचून् छातीमा हरघरी।

🙏 सज्जनवर्गका प्रति

क्या राम्रो, मीठो नेपाली गाना झ्याउरे भनेको!
यो खेतभित्र बिरुवा रोपेँ नदेखि खनेको!
फुलेर जाओस् वैलेर जाओस् ईश्वर-इच्छा हो,
पयरपनि नकुल्च, भाइ! यो मेरो भिक्षा हो।
यो फलिजाओस्! यो फैलिजाओस्! वसन्त डाकन,
झ्याउरे भनी नगर हेलाँ हे प्यारा सज्जन!
नरम गररोस्, चरम-चुली उडाई पुर्‍यातओस्,
निर्मल नाला-लहर जस्ता अगर चलाओस्,
पहाडछातीमा पो टम्मराओस् डाँडाले दोहोर्‍याउन्,
मन र वन गुँजेर उठून्, छहरा छहराऊन्।

नेपाली गेडा, नेपाली दाना, नेपाली रसले
भिजेको मीठो रसिलो गीत, नेपाली कसले
नेपाली भन्ने कसले त्यसै आँखा नै चिम्ललेला;
प्रतिभाबाट छहरा छुटे, हृदय नछोला?
पर्वत, खाडी, फाँटमा चल्छ झयाउरेको लहरी,
स्वदेशी माटो जागेर बोल्छ सरलमा छहरी।

पहाडी वायुमण्डलको ध्वनि गोधुलि-वनको बोल,
हिमालमा हुर्की, फूलरङ्गले छिर्की, बास्निन्छ अनमोल,
श्रमको अमृत, प्रेमको पीयूष, जनको रसमा,
दुःख र सुखको कराली पथ, जल-ज्योति-सम्झना,
झ्याउरे हाम्रो जलको बाटो आँसुको कहानी,
झिल्झिले नाला लहरबेली रुलाइ र मुस्कानी।

💔 मदन भोट जाने बेलामा मुना

मुना—

नछाडी जानोस् हे मेरा प्राण! अकेली मलाई,
मनको वनमा ननिभ्ने गरी विरह जलाई!
ननिभ्ने गरी विरह जलाई!
लोचनका तारा! हे मेरा प्यारा! यो जोति बिलाए!
के भनूँ? भन्ने म केही थिइनँ विष नै पिलाए!
प्यारा विष नै पिलाए!

मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा,
यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा,
यो छाती मेरो चिरेर खोली नजर गराए,
त्यो मन केही फर्कँदो होला, तस्वीर खुलाए,
आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन,
मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन,
प्यारा! आँसुले बोल्दैन!

मदन—

हे मेरी मुना! नभन त्यसो, जूनमा फुलेकी!
फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी?
म बीसै दिन बसुँला ह्लासा, बाटामा बीसै दिन,
चखेवा फेरि आउँछ उडी बिहान कुनै दिन,
प्यारी! भेटको बडा दिन!
कि मरिछाड्यो, कि गरिछाड्यो मर्दको इरादा,
नहाल प्यारी! बाटामा मेरो आँसुको यो बाधा।

🏔️ मदन भोट जान्छन् – १

डाँडा र काँडा, उकाला ठाडा जङ्घार हजार,
भोटको बाटो ढुङ्गा र माटो नङ्गा र उजार,
कुइरो डम्म, हिउँले टम्म त्यो विष फुलेको,
सिम्सिमे पानी, बतास चीसो बरफ झैँ डुलेको।

मसाने खम्बा लामाका गुम्बा शिर गोल खौरेका,
बाटामा जाने हात खुट्टा ताने, आगाले बौरेका।
बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामा
मदन ह्लासा झलझल देख्थे ब्यूँझिँदो स्वप्नमा।

आखिर ठूलो सुनको छाना साँझमा सुहायो,
मैदानतिर पोतालामनि ह्लासा नै मुस्कायो।
आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको,
सुनको छाना, दरबार अजङ् त्यो दले लामाको।

स्याम्बोमा स्याम्बो रमाइलो नाची कम्मर समाई,
चरण फयाँकि बाँसुरी तालमा, अप्सरा लजाई,
सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र,
लुकेका स्वर्ग, समुच्च जाति यसमा छन् विचित्र।

🏔️ मदन भोट जान्छन् – २

सिङ्डोङ्कारमाथि पहाडी चुच्चो आगो झैँ बल्दछ,
त्यो ताशीलिङ्गा फूलको बारी हावामा झुल्दछ।
तलाउ लुक्याङ् चम्कन्छ तल, आकाशतर्फको,
सुनले छाएको गुलाबी घर फोडाङमार्पोको।

चुङसुक्याङ् भन्ने सडक राम्रो, चूजिक्याङ् बगैँचा,
अस्कानी पुल यूतोक स्याँपा घाँसका गलैँचा,
फूलबुट्टे चउर घाँसका बगैँचा।

छ मैना गयो, सात मैना गयो मन भो झसङ्ग
ती मुना प्यारी, आमा बेचारी मन भो झसङ्ग
मनमा आए लहर नाघी जङ्घार तर्यो पार,
मनले उनको पखेटा हाल्यो उडेर गयो घर।

बसेको बस्यै घरमा पुगे आमा छन् बिरामी,
मुनाका आँखा रोएर ठूला, नयन बदामी,
लाम्चिला, ठूला नयन बदामी!

🤒 मदनलाई बाटामा हैजा लाग्छ

‘नछाड मेरा हे साथीभाइ! वनमा मलाई,
काग र गिद्धहरुको पापी शिकार बनाई।
घरमा मेरी ती बूढी आमा, ती बूढी मर्नेछन्,
चन्द्रमा जस्ती ती मेरी मुना ठहरै पर्नेछन्।

हे मेरा साथी! हे मेरा भाइ! म अझ मर्दिनँ,
कालको साथ लडेर उठ्छु वनमा मर्दिनँ,
यो घाँटी सुक्यो; यो छाती पोल्यो; यो आँसु पुछन,
अझ छ सास, अझ छ आस, यो दर्द बुझन।

आशिष देलिन् ती बूढी आमा मलाई बचाओ!
मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो।
यो घाँटी सुक्यो म पानी खान्नँ! बिझायो यो घाँस,
घाँसको चोसा दयाले मर्छ; आँसुले पियास!’

🏔️ भोटेको उपचार र मानवता

भएको बल गलाको पुग्छ चिराक पल्तिर।
को रुन्छ, भनी भोटेले हेर्छ, देख्दछ बिरामी
मायाले भन्छ, ‘साथी र भाइ रहेछ हरामी।
मेरो छ घर एक कोस पर, तिमी त मर्दैन,
म बोकी लान्छ, हुन्छ कि हुन्न? फरक पर्दैन।’

भोटेको पाउ समाई भन्छन् बिचरा मदन,
‘ईश्वर मेरा हे भोटे दाइ! क्या राम्रो वचन!
घरमा मेरी छन् बूढी आमा, ती सेतै फुलेकी,
घरमा मेरी जहान यौटी बत्ती झैँ बलेकी।

मलाई आज बचाइदेऊ ईश्वरले हेर्नेछ
मानिसलाई मद्दत गर्ने स्वर्गमा पर्नेछ।
क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन;
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।’

बोकेर लग्यो भोटेले घर, ऊनमा बिसायो,
पानीको घुट्का पिलाइदियो दयाले रसायो।
खोजेर ल्यायो वनको बूटी घोटेर पिलायो,
चौँरीको दूध पिलाईकन बलियो बनायो।

🥀 मुनाको विरह र मृत्यु

अकेली मुना अत्यन्तै राम्री कमल झैँ फुलेकी,
बादलको चाँदी किनारा छोई जून झैँ खुलेकी।
कलिला ओठ खोलेर हाँस्ता मोती नै बर्सन्थ्यो
पसु की फूल झैँ सुकेर गइन् आँसु नै बर्सन्थ्यो।

लाम्चिला आँखा पुछेर गर्थिन् सासूको सुसार
कोठामा सुत्ता तकिया भिज्थ्यो चिन्ताले हजार,
ती दिन लामा, ती रात लामा, ती दिन उदासी।
अँध्यारा रात, उज्याला रात जून नै उदासी।

झ्यालमा आँसु मुनाको मन चिन्ताको आहारा।
स्वरमा आँसुको सिम्सिमे वर्षा मसिनो चले झैँ,
एकान्तभित्र उठ्तछ गाना विरह बोले झैँ।

👵 मदनकी आमा

मदनकी आमा, फुलेकी सेतै ओछयान परेकी,
डाँडाकी जून, अन्त्यको दिन दुःखमा कुरेकी,
सुकेको तेल घरकी बत्ती मधुरो भएकी
अँध्यारो पारी धिपिक्कै जान तयार रहेकी।

छोराको मुख झल्झली देख्छिन्, ईश्वर पुकार्छिन्,
मनको मन त्यो छोराकन, ईश्वर गुहार्छिन्।
भ्यालको हावा फुलेको केश मुसारी हिँड्दछ,
ह्लासाको तर्फ आमाको दिल बहाई बढ्दछ।

आँखामा छैन उनको आँसु शान्तिले छाएको,
साँझको फिका जलमा अन्त्यको उज्यालो आएको,
प्राणको टेका, कलको छेका, टाढाको छोरो छ,
छोराको मुख हेरेर जाने मनको धोको छ।

‘हे मेरी बज्यै! हे मेरी आमा!! यो अर्ती लिनेछु,
हजूरको मीठो सम्झनालाई आँसुले धुनेछु।
अझ ता केही भएको छैन आराम हुनेछ,
हजूरको धोको त्यो भेट यहाँ अवश्य पुग्नेछ!’

🌳 कुतीमा यौटा पीपल ठूलो

कुतीमा यौटा पीपल ठूलो हावाले हल्लायो,
हाँगामा आई कागले चुच्चो खोलेर करायो,
छहारी बस्ने बटुवा हेर्थे टाढाको टाकुरा,
चिउँडो थियो हातको माथि, घुँडामा पाखुरा।

हाँगाको काग ओह्र्लेर आयो, नजीकै करायो,
नजर छड्के त्यो घाँटी कर्के गरेर करायो।
नजर फिर्यो, पसीना पुछी बोले ती बटुवा,
‘सुबोल् सुबोल् हे! ठाउँ सरी बस्न, आकाश-डुलुवा!

हेरेर आइसु ती आँखा तानी के मे शहर?
नेपाल खाल्डो छ कान्तिपुरमा घर त्यो सुग्घर।
माई छन् मेरी कपाल सेती, मुना छन् उज्याली,
मलाई सन्चो छ भनी आइज पखेटा उचाली।’

😢 शहरभित्र केको हो यस्तो

शहरभित्र केको हो यस्तो वियोग विलाप?
पिल्पिले बत्ती भिजेका आँखा अलाप विलाप।
बज्रको झिल्का चड्केर गई आँधीको पुछार,
हुन्हुन हावा बिलौना गर्छ साँझको सँघार।

कुक्कुर रुन्छ पिँढीमा बसी, अँध्यारो राति छ,
औँसीको कालो आकाश-छाना घरको माथि छ।
पिल्पिले बत्ती धिप्धिप गर्ने अँध्यारो उज्यालो,
अँध्यारोसँग मिसिएजस्तो टुकीको तुवाँलो।

सासूको सास घाँटीमा बज्छ अड्कन्छ गलामा,
बुहारी मूर्च्छा इन्तु-न-चिन्तु माथिको तलामा,
ती मुना कठै! नीली भै पलामा!

😔 मदन त्यसै थलामा परे

मदन त्यसै थलामा परे, दुःखले वैलायो,
वैद्यले आई उनको नाडी घोरिई समायो।
कफ र वायु बिग्रेछ भनी वैद्यले भन्दछ,
अरुको कुरा नसुन्ने कान त्यो कुरा सुन्दछ।

मदन भन्छन्, ‘चरक पढ, सुश्रूत पल्टाऊ,
मनको व्यथा रहन्छ कहाँ? मलाई बताऊ,
जिउने रोग मलाई लाग्यो, यो रोग हटाऊ।
मनको रोगको औषधि के हो? मलाई बताऊ।’

वैद्यले हेर्यो, वैद्यले बुझ्यो, त्यो वैद्य आएन,
मनको व्यथा कता हो कता! औषधि पाएन।

🌅 बादल फाट्यो, चन्द्रमा हाँसी (अन्तिम)

बादल फाट्यो, चन्द्रमा हाँसी स्वर्गमा सुहाए,
साथमा तारा भएका शशी झयालमा चिहाए।
बादल मिल्यो, सधैँका निम्ति मदन निदाए,
भोलि ता फेरि छर्लङ्ग भयो श्रीसूर्य उदाए।

आँखाको धूलो पखालिहाल्यौ हे भाइ! बहिनी!
संसार हाम्ले बुझ्नु नै पर्छ काँतर नबनी।
संसारलाई मुखमा हेरी कम्मर कसेर,
आकाशतिर पखेटा चालौँ पृथिवी बसेर,
खानु र पिउनु जीवन भए, जिउनु हरे! के?
पछिको आशा नभए कठै! मानिस हरे! के?
पृथिवी बसी स्वर्गमा हेर्ने छन् हाम्रा नजर,
तल नै हेरी तल नै हेरी बिलौना नगर।
मनको बत्ती तनको बली स्वर्ग छ प्रसाद,
कर्ममै पुज ईश्वर भन्छ यो ‘लक्ष्मीप्रसाद’।

✍️ रचनाकार

महाकवि लक्ष्मीप्रसाद देवकोटा

#मुनामदन
#लक्ष्मीप्रसाददेवकोटा
#महाकवि
#खण्डकाव्य
#नेपालीसाहित्य
#प्रेमकथा

📖 मुनामदन — नेपाली साहित्यको अमर रत्न, प्रेम र विरहको अमिट कथा 📖

📥 मुनामदन पूरा PDF डाउनलोड गर्नुहोस्


📄 PDF डाउनलोड गर्नुहोस्

(PDF फाइल नयाँ ट्याबमा खुल्नेछ वा स्वतः डाउनलोड हुनेछ)

📖 यहीँ पढ्न चाहनुहुन्छ भने तल हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्