Our Rasuwa – Voice Of Rasuwa

Explore Important Destinations

गोसाइँकुण्ड

📌 प्रकार: ऐतिहाँसिक स्थल, ताल तलैया, धार्मिक स्थल, पर्यटकीय स्थल, मठ-मन्दिर, सांस्कृतिक स्थल 📅 प्रकाशित: २०८३ साउन २० 🏛️ स्थानीय तह: गोसाइँकुण्ड गाउँपालिका
Slider Image

गोसाइँकुण्ड पवित्र ताल र शिव (नीलकण्ठ) मन्दिर परिसर

गोसाइँकुण्ड

‘गोसाइँकुण्ड’ शब्दको उत्पत्ति संस्कृत शब्द ‘गोस्वामी’ बाट भएको मानिन्छ। जनजिब्रोले बोल्दै जाँदा ‘गोस्वामी’ अपभ्रंश भई ‘गोसाइँ’ हुन पुग्यो। ‘गो’ को अर्थ गाई वा इन्द्रिय हो भने ‘स्वामी’ को अर्थ मालिक वा जितेन्द्रिय (इन्द्रियलाई वशमा राख्ने) हो। यसैले ‘गोस्वामी’ अर्थात् इन्द्रियजयी, विशेषगरी सर्वश्रेष्ठ जितेन्द्रिय भगवान शिवसँग यस कुण्डलाई जोडिन्छ।

गोसाइँकुण्ड : वैदिक कालदेखिको पवित्र ताल

परिचय : आस्था र प्रकृतिको अद्भुत संगम

 

वैदिक युगदेखि नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहरका रूपमा रहेको गोसाइँकुण्ड नेपालको एक प्रमुख तीर्थस्थल तथा पर्यटकीय गन्तव्य हो। पवित्र त्रिशूली नदीको उद्गमस्थल समेत रहेको यस कुण्डले धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताको अद्भुत संगम प्रस्तुत गर्दछ। लाङ्टाङ राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल वर्षेनी हजारौं तीर्थयात्री तथा आन्तरिक-बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै आएको छ।

नामकरण र भाषिक विविधता

व्युत्पत्ति

‘गोसाइँकुण्ड’ शब्दको उत्पत्ति संस्कृत शब्द ‘गोस्वामी’ बाट भएको मानिन्छ। जनजिब्रोले बोल्दै जाँदा ‘गोस्वामी’ अपभ्रंश भई ‘गोसाइँ’ हुन पुग्यो। ‘गो’ को अर्थ गाई वा इन्द्रिय हो भने ‘स्वामी’ को अर्थ मालिक वा जितेन्द्रिय (इन्द्रियलाई वशमा राख्ने) हो। यसैले ‘गोस्वामी’ अर्थात् इन्द्रियजयी, विशेषगरी सर्वश्रेष्ठ जितेन्द्रिय भगवान शिवसँग यस कुण्डलाई जोडिन्छ।

विभिन्न भाषामा नाम

भाषा नाम
तामाङ ग्यो, छोकर, ह्वे
शेर्पा घ्यो
तिब्बतीयन छो
नेवारी शिलु

यसरी यस कुण्डलाई विभिन्न भाषामा फरक-फरक नामले सम्बोधन गरिनुले यसको सांस्कृतिक विविधता र व्यापक धार्मिक महत्वलाई प्रकट गर्दछ।

‍भौगोलिक अवस्थिति र संरचनात्मक विवरण

  • प्रदेश : वागमती प्रदेश
  • जिल्ला : रसुवा
  • गाउँपालिका : गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ (साविक स्याफ्रु–५)
  • अक्षांश : २८° ५’ ००” उत्तर
  • देशान्तर : ८५° २४’ ९६” पूर्व
  • उचाइ : समुद्री सतहबाट ४,३८० मिटर (१४,६०० फिट)

मापन तथा तथ्याङ्क

  • क्षेत्रफल : १३.८० हेक्टर (०.१३८ वर्ग किमी)
  • लम्बाई : ६२५.५५ मिटर
  • चौडाई : ३०२ मिटर
  • गहिराई : २६ मिटर
  • पानीको आयतन : १४.७२० लाख घन मिटर
  • प्रतिसेकेन्ड भित्रिने पानी : ३५ लिटर
  • प्रतिसेकेन्ड बाहिरिने पानी : ६० लिटर

वरपरका अन्य प्रमुख कुण्डहरू

भैरव कुण्ड सरस्वती कुण्ड, सृष्टिमाता कुण्ड, आमाकुण्ड, चन्द्रकुण्ड, सूर्यकुण्ड, रक्तकुण्ड, क्योम्युहो कुण्ड, दुधकुण्ड, गणेशकुण्ड, बतासकुण्ड, नौकुण्ड लगायत एक सय आठ कुण्डमध्येका विभिन्न कुण्डहरू यस क्षेत्र वरिपरि छरिएर रहेका छन्।

उत्पत्तिसम्बन्धी धार्मिक किंवदन्तीहरू

गोसाइँकुण्डको उत्पत्तिबारे हिन्दू र बौद्ध दुवै धर्ममा आ-आफ्नै कथन रहे पनि दुवैमा भगवान शिवलाई यसको सिर्जनाकर्ता मानिन्छ।

हिन्दू धर्मअनुसार

सत्ययुगमा देवता र दानवले समुद्र मथन गर्दा ‘हलाहल’ नामक कालकूट विष निस्कियो। त्यस विषले संसार दग्ध गर्न लाग्दा भगवान शिवले विश्वको रक्षार्थ त्यो विष निल्नुभयो तर घाँटीमा अड्कियो। घाँटी नीलो भएकाले उनी ‘नीलकण्ठ’ कहलिए। विषको डाहा शान्त पार्न शिवजी नेपालका विभिन्न तीर्थस्थल हुँदै यहाँ आइपुगे र त्रिशूलले पहरा खोपी पानीको उत्पत्ति गरे। सोही पानी जमेर गोसाइँकुण्ड बनेको र त्यहीँ शिवजी विराजमान भई डाहा शान्त गरेको मान्यता छ। त्रिशूलले खोपिएको हुनाले यसलाई ‘त्रिशूलधारा’ पनि भनिन्छ।

बौद्ध धर्मअनुसार

रसुवाली फूर्पा तामाङको पुस्तक ‘जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म-संस्कृति’ मा उल्लेख भएअनुसार :

महादेवका दाजु ‘छोना’ थिए। दुवै भाइ बस्नका लागि स्वच्छ ठाउँ खोज्दै काठमाडौं हुँदै बेत्रावती, भार्खु, सपिङ ग्यो, नाम्सुङ हुँदै विभिन्न स्थान पुगे। दाजुले राम्रो ठाउँ पाएर भाइलाई बिर्सेपछि महादेव क्रोधित भई त्रिशूलले पहरामा हान्दा पहिलो प्रहारमा पार्वतीको स्तनबाट दुध र दोस्रो प्रहारमा गंगाबाट पानी निस्कियो। दुध र पानी मिसिएर सेतो कुण्ड (छोकर) उत्पत्ति भयो, जसलाई गोसाइँकुण्ड भनियो। दाजुको मन कालो भएकाले त्यस स्थानमा कालो कुण्ड (भैरवकुण्ड) बनेको किंवदन्ती छ।

 रामसार क्षेत्र र जैविक विविधता

रामसार सूचीकरण

गोसाइँकुण्डलाई यसको अद्वितीय जैविक तथा पारिस्थितिकीय महत्वलाई मध्यनजर गर्दै असोज ५, २०६४ (२३ सेप्टेम्बर २००७) मा १,०३० हेक्टर क्षेत्र रामसार सूची (आर्द्रभूमिको अन्तर्राष्ट्रिय महत्वपूर्ण स्थल) मा सूचिकृत गरिएको छ।

वन्यजन्तु तथा वनस्पति

यस क्षेत्रमा निम्न लोपोन्मुख तथा दुर्लभ वन्यजन्तुहरू पाइन्छन् :

  • हिमचितुवा
  • रातो हाब्रे (रेडपाण्डा)
  • कस्तुरी मृग
  • हिमाली थार

त्यस्तै वनस्पतिमा निकुञ्जले संरक्षण प्रदान गरेका ल्यारिक सल्लो, १० भन्दा बढी प्रजातिका लालीगुराँस, तथा सुनाखरी का विभिन्न प्रजातिहरू रहेका पाइन्छन्। रैथानीय, दुर्लभ र संकटापन्न वनस्पति तथा चराचुरुङ्गीको आश्रमस्थलका रूपमा समेत परिचित यो क्षेत्र जैविक विविधताको महत्वपूर्ण भण्डार हो।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षण प्रयास

लाङ्टाङ राष्ट्रिय निकुञ्जले निम्न उद्देश्यमा आधारित रहेर कार्य गर्दै आएको छ :

  • लोपोन्मुख वन्यजन्तुको बासस्थान संरक्षण
  • विविध प्राकृतिक तथा जैविक सम्पदाको संरक्षण
  • धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण
  • स्थानीय जनताको जीवनस्तर उकास्ने क्रममा भू-उपयोग पद्धतिले पारिस्थितिकीय प्रणालीमा पार्ने असर न्यूनीकरण
  • प्राकृतिक स्रोतको मानवीय दोहन घटाई निकुञ्जको प्राकृतिकपन र सुन्दरता जोगाउने

    तीर्थाटन र मेलाको परम्परा

गोसाइँकुण्ड वर्षैभरि तीर्थयात्री तथा पर्यटकले भरिभराउ रहन्छ। तापनि विशेषगरी दुई अवसरमा यहाँ विशाल मेला लाग्दछ :

  • गंगादशहरा (जेठ/असार)
  • जनैपूर्णिमा (साउन/भदौ)

यसबाहेक बालाचतुर्दशी का अवसरमा पनि विशेष धार्मिक अनुष्ठानहरू सम्पन्न हुन्छन्। मेलाका बेला हजारौं भक्तजनहरू पवित्र कुण्डमा स्नान गरी पूजाआजा गर्छन् र मनोकामना पूर्तिको प्रार्थना गर्छन्।

 पर्यटकीय महत्व र सम्भावना

गोसाइँकुण्ड नेपालकै तेस्रो प्रमुख पर्यटकीय गन्तव्यको रूपमा दिनानुदिन चर्चित बन्दै गएको छ। यसको पर्यटकीय महत्वले गोसाइँकुण्ड मात्र नभई हेलम्बु, लाङटाङ र तामाङ सम्पदा मार्ग (तामाङ हेरिटेज ट्रेल) का क्षेत्रहरूलाई समेत समेट्छ। यी क्षेत्रहरूमा पनि ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व उत्तिकै रहेको छ।

ऐतिहासिक तथा सांस्कृतिक आकर्षणहरू

  • अमरसिंह गुफा : नेपाली इतिहासका एक उदाहरणीय पात्र अमरसिंह थापाको देहवसान र यो गुफाको उपस्थितिले ऐतिहासिक महत्व थपेको छ।
  • तामाङ संस्कृति : वरपरका तामाङ समुदायको भेषभूषा, भाषा, नाच र परम्पराले सांस्कृतिक विविधताको जीवन्त प्रस्तुति दिन्छ।
  • पौराणिक कुण्डहरू : एक सय आठ कुण्डमध्ये विभिन्न कुण्डहरू यस क्षेत्रमा छरिएर रहेका छन्, जसले धार्मिक पर्यटनलाई अझ बलियो बनाउँछ।

यी सबै विशेषताले गोसाइँकुण्डलाई धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल बनाएको छ। उचित प्रचारप्रसार, पूर्वाधार विकास र संरक्षणका कार्यक्रम अघि बढाएमा यस क्षेत्रको पर्यटन सम्भावना अझ व्यापक हुने निश्चित छ।

गोसाइँकुण्ड सम्बन्धि कविता ‘नीलकण्ठ महिमा’

 

✦ गोसाइँकुण्ड र वरपरका आकर्षणहरू ✦

✦ यो क्षेत्र आस्था, इतिहास, संस्कृति र प्रकृतिको सुन्दर मिश्रण हो – जसले हरेक यात्रूलाई अविस्मरणीय अनुभव प्रदान गर्दछ । ✦

🌟 विशेषताहरू

  • 🌍 विश्व सम्पदा सूची (रामसार) मा सूचिकृत – अन्तर्राष्ट्रिय महत्वको आर्द्रभूमि।

  • ⛰️ नेपालको तेस्रो पर्यटकीय मार्ग – लाङटाङ–हेलम्बु पदयात्रा मार्गको महत्वपूर्ण गन्तव्य।

  • 🏞️ हिमाल, झरना र बहुसंख्यक तालतलैयाको हब – प्राकृतिक सौन्दर्यको खानी।


🕉️ धार्मिक एवं ऐतिहासिक स्थलहरू

  • 🕊️ वीर अमरसिंह थापाको गुफा – इतिहासका एक अद्वितीय पात्रको सम्झनामा रहेको पवित्र गुफा।

  • 🙏 माने, छुर्तेन, गुम्बा र मन्दिरहरू – हिन्दू–बौद्ध समुदायको साझा आस्थाका प्रतीक।

  • 📿 गोसाइँकुण्ड तथा वरपरका १०८ कुण्डहरू – पौराणिक कथा र धार्मिक मान्यताले भरिपूर्ण तीर्थस्थल।


🌿 जैविक विविधता र वन्यजन्तु

  • 🐼 लोपोन्मुख रेडपाण्डा (रातो हाब्रे) अवलोकन – दुर्लभ वन्यजन्तुको प्राकृतिक बासस्थान।

  • 🌲 लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र – वनस्पति, वन्यजन्तु र चराचुरुङ्गीको अमूल्य भण्डार।

  • 🌺 प्रायः सबै किसिमका लालीगुराँस – रङ्गीचङ्गी फूलका विविध प्रजातिहरू।

  • 🌸 सुगन्धित फूल, धुपी र गोब्रे सल्लो – अद्वितीय वनस्पति सम्पदा।

  • 🌱 लोपोन्मुख जडिबुटीहरूको भण्डार – आयुर्वेदिक महत्वका दुर्लभ वनस्पतिहरू।


🏨 पर्यटकीय सुविधाहरू

  • 🛌 सुविधा सम्पन्न आवास, होटल र लजहरू – हिमाली यात्रामा आरामदायक बसाइ।

  • 🚶 पदयात्रा मार्ग – लाङटाङदेखि हेलम्बुसम्मको रमणीय ट्रेकिङ रुट।

  • 📸 अवलोकन तथा फोटोग्राफीका लागि उत्कृष्ट स्थल – मनोरम दृश्य र अप्रतिम प्राकृतिक छटा।


✦ यो क्षेत्र आस्था, इतिहास, संस्कृति र प्रकृतिको सुन्दर मिश्रण हो – जसले हरेक यात्रूलाई अविस्मरणीय अनुभव प्रदान गर्दछ । ✦

🗺️ स्थानमा पुग्न सकिने मार्गहरूको विवरण

🗺️ गोसाइँकुण्ड कसरी पुग्ने ?

७ वटा यात्रा मार्ग – आस्था, साहस र प्रकृतिको अद्भुत यात्रा

गोसाइँकुण्ड पुग्ने बाटोहरू जति विविध, उति नै रमणीय छन् । हिमालको काख, घना जंगल, खोलाखण्ड, र पवित्र कुण्डहरूको शृंखला पार गर्दै यात्रा गर्नुपर्ने हुँदा हरेक मार्गको आफ्नै विशेषता, कठिनाई र अनुभव छ । यहाँ ७ वटा प्रमुख मार्गहरू प्रस्तुत गरिएको छ — तपाईंको सुविधा, समय र रुचिअनुसार छान्नुहोस् ।

🧭 छोटो तुलनात्मक सारांश

मार्ग सुरुवात स्थल कठिनाई प्रमुख आकर्षण समय (अनुमानित)
धुञ्चे (रसुवा) मध्यम तीर्थयात्रीको चहलपहल, सजिलो ३–४ दिन
कालिकास्थान (रसुवा) मध्यम–कठिन नौकुण्डको दर्शन ३–४ दिन
विदुर (नुवाकोट) मध्यम–कठिन जंगल, यार्सागुम्बा क्षेत्र ३–४ दिन
शिखरबेंशी (नुवाकोट) मध्यम पौराणिक सागरकुण्ड २–३ दिन
बुढानीलकण्ठ (काठमाडौं) मध्यम–कठिन ऐतिहासिक, शिवपुरी वन ४–५ दिन
सुन्दरीजल (काठमाडौं) मध्यम–कठिन सूर्यकुण्ड, घना जंगल ४–५ दिन
मेलाम्ची (सिन्धुपाल्चोक) कठिन शान्त, बौद्ध संस्कृति ४–५ दिन

📍 मार्ग १ : रसुवा जिल्ला सदरमुकाम धुञ्चेबाट

सदरमुकाम धुञ्चे → मिनीगोसाइँकुण्ड (घट्टेखोला) → देउराली → धिम्सा → चन्दनबारी (लाङटाङ जान पनि सकिन्छ) → स्याफ्रुबेंशी → ठूलोस्याफ्रु → फोप्राङ → चन्दनबारी (सिङ्गोम्बा) → चोलाङपाटी → लौरीबिना → गोसाइँकुण्ड

  • विशेषता : यो सबैभन्दा लोकप्रिय र व्यवस्थित मार्ग हो। बाटोमा लाङटाङको मनोरम हिमाली दृश्य र तीर्थयात्रीहरूको चहलपहल रहन्छ।

  • समय : ३–४ दिन (दुवैतिर)

  • उपयुक्त : पहिलो पटक गोसाइँकुण्ड जाने तीर्थयात्री तथा पर्यटकहरूका लागि।

🏔️ मार्ग २ – कालिकास्थान–लोकिल–नौकुण्ड–गोसाइँकुण्ड

कालिकास्थान → लोकिल → जुरेढुङ्गा → श्यार्मा (वा बिजिली जोङ्ग–सिम्बन्दी हुँदै) → नौकुण्ड → गोसाइँकुण्ड

  • विशेषता : नौकुण्ड हुँदै जाने यो मार्गले ९ वटा कुण्डहरूको दर्शन गराउँछ, जसले यात्रालाई धार्मिक रूपमा विशेष बनाउँछ।

  • समय : ३–४ दिन

  • उपयुक्त : तीर्थयात्री र साहसिक प्रेमीहरूका लागि।

🏔️ मार्ग ३ – विदुर–यार्सा–नौकुण्ड हुँदै

विदुर → चोकदे → लच्याङ → सरमथली → यार्सा → सिम्बन्दी → श्यार्मा → नौकुण्ड → गोसाइँकुण्ड

(वा यार्साबाट सिधै राउचुली–नौकुण्ड हुँदै)

  • विशेषता : नुवाकोटको बाक्लो जंगल र मनोरम खोलाको आवाजसहितको यात्रा। यार्सा क्षेत्रमा यार्सागुम्बा पाइने हुँदा जडीबुटी अनुसन्धानकर्ताहरूका लागि पनि आकर्षण।

  • समय : ३–४ दिन

  • उपयुक्त : प्रकृतिप्रेमी र जडीबुटीका जानकारहरूका लागि।

🏔️ मार्ग ४ – शिखरबेंशी (दुप्चेश्वर) हुँदै

शिखरबेंशी (दुप्चेश्वर) → सागरकुण्ड → नौकुण्ड → गोसाइँकुण्ड

(वा शिखरबेंशी–उर्लेनी–राउचुली–नौकुण्ड हुँदै)

  • विशेषता : यो मार्ग पौराणिक दृष्टिले महत्वपूर्ण मानिन्छ। सागरकुण्डको शान्त जलराशिले मन शीतल बनाउँछ।

  • समय : २–३ दिन (छोटो र रमणीय)

  • उपयुक्त : मनोकामना लिएर जाने भक्तजनका लागि उत्तम।

🏔️ मार्ग ५ – बुढानीलकण्ठ–दुप्चेश्वर–नौकुण्ड

बुढानीलकण्ठ → शिवपुरी → दुप्चेश्वर → राउचुली → नौकुण्ड → गोसाइँकुण्ड

  • विशेषता : शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज को घना जंगल पार गर्नुपर्ने यो मार्ग सबैभन्दा पुरानो र पौराणिक मार्ग हो । काठमाडौंबाट सजिलै पुग्न सकिन्छ।

  • समय : ४–५ दिन 

  • उपयुक्त : आस्थावान् पर्यटक र पदयात्रुहरूका लागि।

🏔️ मार्ग ६ – सुन्दरीजल–सूर्यकुण्ड हुँदै

सुन्दरीजल → चिसापानी → पाटीभञ्ज्याङ (वा तालामराङ–कुटुमसाङ) → मागिनगोठ → ठाडेपाटी → घोप्टे → फेदी → सूर्यकुण्ड → गोसाइँकुण्ड

  • विशेषता : यो मार्गले सूर्यकुण्ड को दर्शन गराउँछ, जसलाई शिवको अर्को शक्तिको रूपमा मानिन्छ। सुन्दरीजलको चिसो पानी र घना जंगल अविस्मरणीय छन्।

  • समय : ४–५ दिन

  • उपयुक्त : ट्रेकिङ र ध्यान–साधनाका लागि प्रसिद्ध।

🏔️ मार्ग ७ – मेलाम्ची पुलबजार–सूर्यकुण्ड–गोसाइँकुण्ड

मेलाम्ची पुलबजार → तार्केघ्याङ → मेलाम्चीगाउँ → ठाडेपाटी → घोप्टे → फेदी → सूर्यकुण्ड → गोसाइँकुण्ड

  • विशेषता : मेलाम्चीको घना जंगल र चिसो खोलाको आवाजसहितको यो मार्ग सबैभन्दा शान्त मानिन्छ। बौद्ध गुम्बा र छोर्तेनहरूको उपस्थितिले यात्रालाई आध्यात्मिक बनाउँछ।

  • समय : ४–५ दिन

  • उपयुक्त : शान्ति र प्रकृतिको खोजीमा हिँड्नेहरूका लागि उपयुक्त।

🎬 सम्बन्धित भिडियोहरू

'Nepal' 8th wonder of the world

Sapana ko yatra

मरूभूमिको यात्री

Ujyaalo Nepal

📚 सन्दर्भ स्रोतहरू

रसुवा नेपाल डट् कम 🔗

https://www.rasuwanepal.com.np/2023/07/gosainkundaRasuwaNepal.html

विभिन्न सरकारी वेवसाइटमा आधारित

🗺️ स्थानको पूर्ण नक्सा (स्याटेलाइट)

प्रेमप्रसाद पौडेल

प्रेमप्रसाद पौडेल

Our Rasuwa Founder

लेखकका सबै लेखहरू हेर्नुहोस् →

📍 नजिकका गन्तव्यहरू

सबै हेर्नुहोस् →

🏛️ गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतका गन्तव्यहरू

सबै हेर्नुहोस् →

⭐ मूल्याङ्कन (Rating) र टिप्पणी (Comments)

यो गन्तव्यलाई रेट गर्नुहोस्:
1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *