Our Rasuwa – Voice Of Rasuwa

Explore Important Destinations

भैरव कुण्ड

📌 प्रकार: ताल तलैया, धार्मिक स्थल, पर्यटकीय स्थल 📅 प्रकाशित: २०८३ साउन २० 🏛️ स्थानीय तह: गोसाइँकुण्ड गाउँपालिका
Slider Image

भैरव कुण्ड र गोसाइँकुण्ड तस्वीर

भैरवकुण्ड : डर, किम्वदन्ती र धार्मिक आस्थाको अनौठो संगम

भैरवकुण्ड (छोना/कालोकुण्ड) गोसाइँकुण्ड क्षेत्रको एउटा अनौठो र रहस्यमय कुण्ड हो। हिन्दू र बौद्ध दुवै धर्मको किंवदन्तीले यसलाई डर, पाप र विष सँग जोडेको छ। ब्रह्माको शीर छेदनको पाप, हलाहल विषको पसिना, नागको वास, र गोले झाँक्रीको पौराणिक लडाइँ जस्ता कथनले यस कुण्डको पहिचान निकै फरक बनाएको छ। जहाँ गोसाइँकुण्डले जीवन र आशीर्वादको प्रतीक दिन्छ, भैरवकुण्डले विसर्जन र भय को संकेत गर्दछ। यसैले तीर्थयात्रीहरू गोसाइँकुण्डमा श्रद्धापूर्वक स्नान गर्छन् तर भैरवकुण्डलाई नहेरी—वा कतै टाढाबाट नमन गरी—अगाडि बढ्छन्। यो कुण्डले नेपाली धार्मिक मान्यताको विविधता र आस्थाको गहिराइलाई प्रकट गर्दछ, जहाँ एउटै भगवानका विभिन्न रूपहरूलाई फरक-फरक भावनाका साथ व्याख्या गरिन्छ।

स्थान र परिचय

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ मा अवस्थित भैरवकुण्ड गोसाइँकुण्ड क्षेत्रको एक महत्वपूर्ण तर विशिष्ट पहिचान भएको कुण्ड हो। यो कुण्ड गोसाइँकुण्ड (छोकर) भन्दा ठीक मुनि र सरस्वती कुण्ड (वाङ्लत्ती) भन्दा माथि अवस्थित छ। स्थानीयहरू यसलाई ‘छोना’ अर्थात् कालोकुण्ड भनेर चिन्दछन्। गोसाइँकुण्ड क्षेत्रका अन्य कुण्डहरूको तुलनामा यसको धार्मिक धारणा भने निकै भिन्न र नकारात्मक मानिन्छ। अन्य कुण्डहरूमा श्रद्धापूर्वक स्नान गरिन्छ भने भैरवकुण्डप्रति सामान्यतः भक्तजनहरूको टाढाको व्यवहार पाइन्छ।

हिन्दू धर्मअनुसार उत्पत्ति कथा

ब्रह्माको शीर छेदनको पाप

हिन्दू धार्मिक कथनअनुसार भगवान शिवले ब्रह्माको शीर (टाउको) छेदन गर्नुभएको थियो। त्यस कार्यको पापको प्रभावले शिवजीको शरीरमा गुप्ताङ्ग रोग (कुष्ठरोग जस्तो) लाग्यो र तिनी कुरूप भए। त्यस पापको निवारण र रोगको शान्तिका लागि शिवजीले गोसाइँकुण्डभन्दा मुनि एउटा कुण्डको सिर्जना गरी त्यहाँ विराजमान रहनुभयो। यसै कुण्डलाई पछि भैरवकुण्ड भनियो।

हलाहल विष र पसिनाको कथा

अर्को हिन्दू किम्वदन्तीअनुसार—सत्ययुगमा देवता र दानवले मिली समुद्र मथन गर्दा ‘हलाहल’ नामक कालकूट विष निस्कियो। विश्वको रक्षार्थ शिवजीले त्यो विष निल्नुभयो तर त्यो उहाँको घाँटीमा अड्कियो र शिवजीलाई असह्य डाहा भयो। त्यस डाहाका कारण शिवजीको शरीरबाट पसिना छुट्यो र सोही पसिना जमेर यो कुण्ड निर्माण भएको मान्यता छ। विषयुक्त पसिनाबाट यो कुण्ड उत्पन्न भएको हुनाले यहाँ विषालु नागहरू रहेको विश्वास गरिन्छ।

यसैले यस कुण्डको पानीलाई अशुद्ध, विषालु र डरलाग्दो मानिन्छ। अन्य कुण्डहरूमा जस्तो यहाँ तीर्थयात्रीहरू स्नान गर्न जाँदैनन्। बरु गोसाइँकुण्डबाट फर्किँदा भैरवकुण्डलाई हेर्नसमेत नहुने भन्ने मान्यता रहेको छ। यसले यस कुण्डप्रतिको नकारात्मक धारणालाई अझ स्पष्ट बनाउँछ।

बौद्ध धर्मअनुसारको किंवदन्ती

बौद्ध धर्मको मान्यताअनुसार भैरवकुण्ड भगवान शिव (महादेउ) का दाजु ‘छोना’ ले निर्माण गरेका हुन्। रसुवाली फूर्पा तामाङको पुस्तक ‘जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म-संस्कृति’ अनुसार—महादेव र उनका दाजु छोना स्वच्छ बासस्थानको खोजीमा विभिन्न स्थानहरूमा घुमे। अन्त्यमा दाजु छोनाले आफ्ना लागि उपयुक्त ठाउँ फेला पारे तर भाइलाई बिर्सिदिए। यसबाट रिसाएका महादेवले श्राप दिए—‘दाजुको मन कालो भएको हुनाले दाजुले बनाएको कुण्ड कालो होस्।’ सोही श्रापका कारण छोनाले बनाएको कुण्ड कालोकुण्ड (भैरवकुण्ड) बनेको र महादेवले बनाएको कुण्ड सेतोकुण्ड (गोसाइँकुण्ड) बनेको विश्वास गरिन्छ।

यसैले तामाङ भाषामा गोसाइँकुण्डलाई ‘छोकर’ (सेतो कुण्ड) र भैरवकुण्डलाई ‘छोना’ वा ‘कालोकुण्ड’ भन्ने गरिन्छ। यो नामकरणले नै यी दुई कुण्डको धार्मिक ध्रुवीकरणलाई प्रकट गर्दछ।

 गोले थरको अद्भुत किम्वदन्ती

भैरवकुण्डसँग जोडिएको सबैभन्दा रोचक र प्रचलित किम्वदन्ती नेपालका गोले थरका मानिसहरूसँग सम्बन्धित छ। यसै कारण गोले थरका मानिसहरू प्रायः भैरवकुण्ड—र कतिपय अवस्थामा गोसाइँकुण्डसमेत—जाँदैनन् भन्ने मान्यता छ।

कथा यसप्रकार छ :
प्राचीन समयमा गोले थरका एक झाँक्री (धामी/ज्योतिष) र उनकी पत्नी गोसाइँकुण्ड क्षेत्रमा आए। झाँक्रीलाई भैरवकुण्डमा रहेको विषालु नाग लाई परास्त गर्ने इच्छा जाग्यो। उनले आफ्नी पत्नीलाई भने—

“म अहिले कुण्डभित्र पसेर नागसँग युद्ध गर्छु। जबसम्म म कुण्डबाट बाहिर नआउँछु, तिमीले निरन्तर ढ्याङ्ग्रो बजाउनु र अक्षता (चामल) छर्किरहनु। म नागलाई परास्त गरेर बाहिर आएपछि तिमीले अक्षता छर्कनु र ढ्याङ्ग्रो बजाउन छोड्नु। तर जबसम्म म बाहिर आउँदिनँ, ढ्याङ्ग्रो बजाउन कदापि नरोक्नु।”

यति भनी झाँक्री तन्त्रमन्त्रको बलमा कुण्डभित्र पसे। उनी नागसँग जुध्न थाले। केहीबेरको भयंकर युद्धपछि झाँक्री नागलाई परास्त गरी माथि उठ्दै थिए। त्यसैबेला पत्नीले कुण्डभित्र देखिएको भयानक दृश्य देखेर डराइन् र ढ्याङ्ग्रो बजाउन छोडिदिइन्—साथै अक्षता पनि छर्किनन् र भागिन्। फलस्वरूप, नागले अवसर पाएर झाँक्रीलाई बेरिदियो र उनको ज्यान गयो। यसै घटनाका कारण गोले थरका मानिसहरूले भैरवकुण्ड र कतिपयले गोसाइँकुण्डसम्म नजाने परम्परा बसालेका हुन्।

यो किम्वदन्तीले भैरवकुण्डलाई डर, अशुभ र कुल-परम्परासँग जोडेको छ। गोले थरका मानिसहरू पुस्तौंदेखि यस विश्वासलाई आत्मसात गर्दै आएका छन्।

 भैरवकुण्डप्रतिको नकारात्मक धारणा

भैरवकुण्ड गोसाइँकुण्ड क्षेत्रका अन्य कुण्डहरूको तुलनामा सबैभन्दा अलग धारणा बोकेको कुण्ड हो :

स्नान निषेध : कुनै पनि तीर्थयात्रीले यहाँ स्नान गर्दैनन्।

हेर्नसमेत मनाही : गोसाइँकुण्डको परिक्रमा गर्दा फर्किँदा भैरवकुण्डलाई हेर्न नहुने मान्यता।

विषालु नागको बास : यहाँ नागहरू बस्छन् भन्ने विश्वास।

कुल-परम्परा : विशेषगरी गोले थरका मानिसहरूको प्रायः आगमन नहुने।

यी सबैले यस कुण्डलाई अशुभ, डरलाग्दो र वर्जित स्थलका रूपमा स्थापित गरेको छ।

भैरवकुण्डको वैज्ञानिक पक्ष

धार्मिक तथा सांस्कृतिक मान्यताका बाबजुद वैज्ञानिक दृष्टिले भैरवकुण्डको पानीमा उच्च खनिज पदार्थ (विशेषगरी सल्फर, आइरन) को मात्रा बढी हुन सक्छ, जसले गर्दा पानीको रंग कालो वा गाढा देखिन सक्छ। उच्च हिमाली क्षेत्रमा रहेका कतिपय तालहरूको पानीमा खनिज मिश्रण वा विशेष वनस्पतिको कारणले रंग परिवर्तन हुने वैज्ञानिक तथ्य पनि छ। तापनि यसको धार्मिक महत्व नै सर्वोपरि रहेको छ।

भैरव कुण्ड तथा वरपरका क्षेत्रको महत्व तथा आकर्षणहरू

–         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

–         विश्व सम्पदा सूचि (रामसार) मा सूचिकृत

–         वीर अमरसिंह थापाको गुफा

–         लोपोन्मुख रेडपाण्डा अवलोकन

–         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

–         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

–         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

–         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

–         नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि हेलम्बु पदयात्रा)

–         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

–         माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन 

🗺️ स्थानमा पुग्न सकिने मार्गहरूको विवरण

भैरव कुण्ड कसरी पुग्ने ?

१)        रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्साबाट चन्दनबारी वा (लाङटाङ पुग्न पनि सकिन्छ) स्याफ्रुबेंशी-ठूलोस्याफ्रु, फोप्राङ, चन्दनबारी (सिङ्गोम्बा), चोलाङपाटी, लौरीबिना हुँदै

२)        रसुवा जिल्लाको कालिकास्थानबाट लोकिल, जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै

३)        नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड हुँदै

४)        नुवाकोटको शिखरबेंशी (दुप्चेश्वर) बाट सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली, नौकुण्ड हुँदै

५)        काठमाण्डौको बुढानीलकण्ठबाट शिबपुरी, दुप्चेश्वर, राउचुली, नौकुण्ड हुँदै

६)        काठमाण्डौंको सुन्दरीजलबाट चिसापानी, पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड हुँदै

७)        सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड हुँदै

🎬 सम्बन्धित भिडियोहरू

कथा संसार

📚 सन्दर्भ स्रोतहरू

कुनै सन्दर्भ स्रोत उपलब्ध छैन।

🗺️ स्थानको पूर्ण नक्सा (स्याटेलाइट)

प्रेमप्रसाद पौडेल

प्रेमप्रसाद पौडेल

Our Rasuwa Founder

लेखकका सबै लेखहरू हेर्नुहोस् →

📍 नजिकका गन्तव्यहरू

सबै हेर्नुहोस् →

🏛️ गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतका गन्तव्यहरू

सबै हेर्नुहोस् →

🏛️ स्थानीय तहहरू:

🏙️ गाउँ / शहरहरू:

🏷️ सबै ट्यागहरू:

⭐ मूल्याङ्कन (Rating) र टिप्पणी (Comments)

यो गन्तव्यलाई रेट गर्नुहोस्:
1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *