Our Rasuwa – Voice Of Rasuwa

Explore Important Destinations

हावाबाटै हरियाली : रसुवाको वन पुनर्स्थापनामा ड्रोन प्रविधिको प्रयोग सुरु

प्रेमप्रसाद पौडेल

प्रेमप्रसाद पौडेल

Our Rasuwa Founder

📄 3 समाचार
सबै समाचार
⭐ हाइलाइट
रसुवाको आमाछोदिङ्मो–३ ज्यार्सा गोठिन सामुदायिक वनमा डढेलोले उजाड बनेको ४५५ हेक्टर क्षेत्र पुनर्स्थापना गर्न ड्रोन प्रविधिबाट बीउ छर्न सुरु भएको छ। पहिलो चरण ३० हेक्टरमा १०० केजी सल्लो, धुपी, खस्रु, राई घाँस र ह्वाइट क्लोभरका बीउ छरिँदैछ। बीउमा हाइड्रोजेल र बायोचार मिसाइएको छ। प्रतिकूल मौसमका कारण पहिलो दिन २० केजी मात्र छरियो। त्रिभुवन विश्वविद्यालयको प्राविधिक सहयोगमा तीन वर्षसम्म सञ्चालन हुने यस अभियानले वन पुनर्स्थापनामा नयाँ सम्भावना देखाएको छ।

रसुवा — डढेलोले नष्ट भएको वन क्षेत्रलाई पुनः हरियाली बनाउन रसुवामा पहिलो पटक ड्रोन प्रविधि (Unmanned Aerial Vehicle – UAV) प्रयोग गरी बीउ छर्ने कार्य सुरु भएको छ । आधुनिक भू–प्रविधि (Geospatial Technology) र कृत्रिम बुद्धिमत्ती (AI) मा आधारित यो अभियानले दुर्गम तथा कठिन भू–भागमा समेत वन पुनर्स्थापनाको नयाँ सम्भावना खोलेको छ । सोमबार आमाछोदिङ्मो गाउँपालिका–३ स्थित ज्यार्सा गोठिन सामुदायिक वनमा डिभिजन वन कार्यालय रसुवा को आयोजनामा ड्रोनबाट बीउ बर्साइएको हो ।

पहिलो चरण : ३० हेक्टरमा १०० केजी बीउ छर्ने लक्ष्य

डढेलोबाट प्रभावित ४५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा ३० हेक्टर जमिनलाई लक्षित गरिएको छ । कुल १०० केजी बीउ छर्ने योजना रहे पनि प्रतिकूल मौसम (उच्च वायुप्रवाह र वर्षा) का कारण पहिलो दिन २० केजी मात्र छर्न सकिएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयले शेष बीउ आगामी अनुकूल मौसममा छर्ने तयारी गरेको छ ।

माटो र हावापानीअनुसार वैज्ञानिक बीउ चयन

डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङका अनुसार स्थानीय हावापानी, माटोको प्रकृति र उचाइअनुसार वैज्ञानिक छनोट गरिएका बीउहरू प्रयोग गरिएको छ । ड्रोनमार्फत सल्लो (Pinus roxburghii), धुपी (Juniperus indica), खस्रु (Alnus nepalensis) लगायतका वनस्पतिका बीउसँगै राई घाँस (Eulaliopsis binata) र ह्वाइट क्लोभर (Trifolium repens) जस्ता घाँस प्रजातिका बीउसमेत मिसाइएको छ । “यसले वन पुनर्स्थापनासँगै खर्क व्यवस्थापन र पशुपालनलाई समेत सहयोग पु¥याउनेछ,” तामाङले बताए ।

दुर्गम भौगोलिक अवस्थामा ड्रोन सहायक

विसं २०६५ को भीषण डढेलोले यस क्षेत्रका सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ बहुमूल्य वनस्पति नष्ट भएका थिए । १६ हजारभन्दा बढी रुखको क्षति भएको उक्त वन क्षेत्रमा यसअघि ३० हजार बढी बिरुवा रोपिएको भए पनि कठिन भौगोलिक अवस्था र ठाडो भिरालो भू–भागका कारण परम्परागत विधि (मानवीय श्रम) ले सीमित सफलता मात्र दिएको थियो । त्यसैले, अहिले टेक्नोलोजी–असिस्टेड रिजेनेरेशन (TAR) को अवधारणा अन्तर्गत ड्रोन प्रविधि अपनाइएको हो, जसले दुर्गम ठाउँमा समेत सहज, द्रुत र सटीक रूपमा बीउ बिजारण गर्न सक्छ ।

 बीउसँगै पोषक तत्व र हाइड्रोजेल : अंकुरण दर बढाउने चाबी

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश राईले ड्रोन प्रविधिले समय, श्रम र लागत बचत गराउनुका साथै वैज्ञानिक परिशुद्धता पनि प्रदान गर्ने बताए । उनका अनुसार डढेलोपछि माटोको उमार शक्ति कमजोर हुने भएकाले बीउमा आवश्यक पोषक तत्व, बायोचार (Biochar) र हाइड्रोजेलसमेत मिसाएर छरिएको छ । “हाइड्रोजेलले माटोमा नमी जोगाउन मद्दत गर्छ भने बायोचारले माटोको संरचना सुधार्छ, जसले गर्दा बीउ अंकुरण दर ६०–७०% सम्म पुग्न सक्छ,” उनले भने ।

तीन वर्षे दीर्घकालीन अभियान र भावी सम्भावना

यस अभियानमा त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान, वन तथा भू–संरक्षण विभाग, र स्थानीय सामुदायिक वन समूह को प्राविधिक तथा सहयोगात्मक भूमिका रहेको छ । कार्यालयले लगातार तीन वर्षसम्म यो अभियान जारी राख्ने योजना बनाएको छ, जसमा प्रत्येक वर्ष १००–१५० केजी बीउ ड्रोनमार्फत छर्ने लक्ष्य राखिएको छ । यसअघि रोपिएका ३० हजार बिरुवाको संरक्षणका लागि तारबार (ग्याबियन जाली) समेत गरिएको छ । ड्रोनबाट बीउ छर्ने यो नवीन अभ्यासले डढेलो प्रभावित वन क्षेत्रको पुनःस्थापनामा दूरगामी सम्भावना सिर्जना गरेको छ र यसलाई अन्य जिल्लाका डढेलोप्रभावित वन क्षेत्रमा पनि मोडेलका रूपमा लागू गर्न सकिने विज्ञहरूले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *