रसुवामा ट्राफिक कारबाहीबाट २९ लाख राजस्व संकलन
रसुवा । जिल्लामा गत आर्थिक वर्ष (२०८२/०८३) सवारी नियम उल्लंघन गर्ने सवारीसाधनमाथि गरिएको ट्राफिक कारबाहीबाट करिब २८ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाका इन्चार्ज प्रहरी सहायक निरीक्षक जलन्धर राय यादवका अनुसार नियम उल्लंघन गर्ने २ हजार ३ सय ४८ वटा सवारीसाधनलाई कारबाही गरिएको हो।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २ हजार ३ सय ५९ वटा सवारीसाधन कारबाहीमा पर्दा २५ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। यस वर्ष कारबाहीमा परेका सवारी संख्या केही घटे पनि राजस्व संकलनमा भने वृद्धि भएको छ।
कारबाहीमा कुन सवारी बढी?
कारबाहीमा सबैभन्दा बढी १ हजार ७५ ट्रक परेका छन्। त्यस्तै, ५ सय ९१ कार तथा जीप, ५ सय २९ मोटरसाइकल, ९६ बस, २९ टेम्पो र २८ ट्र्याक्टर कारबाहीमा परेका छन्। ट्रकहरूको उच्च संख्याले व्यावसायिक सवारीसाधनमा नियम उल्लंघन बढी रहेको संकेत गर्दछ।
१ सय १६ दुर्घटना, ३ जनाको मृत्यु
सोही अवधिमा जिल्लामा १ सय १६ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन्। दुर्घटनामा ट्रक, टिपर, बस, माइक्रो, कार–जीप, टेम्पो, मोटरसाइकललगायत गरी १ सय ८० वटा सवारीसाधन संलग्न रहेको ट्राफिक प्रहरीले जनाएको छ।
जनचेतनामा जोड
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ। गत आर्थिक वर्ष ४ सय ७२ पटक सञ्चालन गरिएका ट्राफिक सचेतना कार्यक्रमबाट २८ हजार २ सय ९३ जना लाभान्वित भएका छन्।
विद्यार्थी लक्षित ट्राफिक कक्षा, पैदलयात्री सचेतना, चालकको स्वास्थ्य परीक्षण, सवारीसाधनको यान्त्रिक परीक्षण तथा चालकसँग ‘५ मिनेट’ सचेतना संवादजस्ता कार्यक्रम निरन्तर सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले जनाएको छ। यी कार्यक्रमले सवारी दुर्घटना घटाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।