Our Rasuwa – Voice Of Rasuwa

Explore Important Destinations

भोटेकोशीको महाविनाश: इतिहास, आस्था, जीवन र पुनर्जन्मको खोजी

प्रेमप्रसाद पौडेल

प्रेमप्रसाद पौडेल

Our Rasuwa Founder

📄 6 लेखहरू
सबै लेखहरू
⭐ हाइलाइट
भोटेकोशीको बाढीले नेपालको हिमाली विपद् व्यवस्थापनमा गम्भीर संरचनात्मक कमजोरी उजागर गर्‍यो। यो विपद् पूर्ण रूपमा प्राकृतिक थिएन; यसमा जलवायु संकट, सीमापार सूचना अभाव, कमजोर पूर्वचेतावनी, जोखिमयुक्त पूर्वाधार र अपर्याप्त तयारीको भूमिका थियो। तर यो कथा केवल विनाशको कथा होइन। १ हजार ४५१ जनाको मृत्यु, ५ हजार ७०५ जना बेपत्ता र १३ हजार ७९५ जनाको उद्धार—यी संख्याहरूले एउटा कुरा प्रस्ट पार्छन्: हामीले अब पनि पुरानै शैलीमा ‘क्षति भएपछि मात्र’ प्रतिकार्य गर्‍यौं भने अर्को हिमताल विस्फोट वा हिमपहिरोले फेरि उही पीडा दोहोर्‍याउनेछ।

भोटेकोशीको महाविनाश: इतिहास, आस्था, जीवन र पुनर्जन्मको खोजी

हिमालयको चित्कार


वि.सं. २०८३ को भदौ १० गते बिहान। तिब्बततर्फ लाङटाङ लिरुङ हिमालको काखमा जलवायु परिवर्तनका कारण कमजोर बनेको हिउँ र चट्टानको विशाल पहिरो भत्किएर ल्हेन्दे खोलामा खस्यो। सम्भवतः नदी थुनियो, प्राकृतिक बाँध बन्यो, पानी जम्मा भयो र दबाब थेग्न नसकेपछि अचानक फुट्यो। त्यसपछि जे भयो, त्यो शब्दमा बयान गर्न सकिने अवस्था थिएन। करिब १५–२० मिटर प्रतिसेकेन्डको गतिमा दौडिएको माटो, ढुंगा, रुख र भग्नावशेषको लेदो बाढीले भोटेकोशी र त्रिशूली उपत्यकालाई क्षणभरमै उजाड बनायो। यो मनसुनको सामान्य बाढी थिएन; यो हिमालयको क्रन्दन थियो, जसलाई धेरैले ‘हिमालयन सुनामी’ भने।

मानवीय क्षति: संख्याको भयावहता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले असोज ७ गते साँझ ७ बजेसम्मको अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै जानकारी गराएअनुसार हालसम्म १ हजार ४५१ जनाको मृत्यु पुष्टि भएको छ। फेला परेका मृतकहरूको विवरणमा ५४५ पुरुष र ३३६ महिला छन् भने ५३० वटा आंशिक मानव अङ्ग फेला परेका छन्। बाढी तथा पहिरोमा परेर अझै ५ हजार ७०५ जना बेपत्ता छन् र उनीहरूको खोजी कार्य निरन्तर जारी छ।
बाढीका कारण अझै ५ हजार ८३ जना नागरिक सम्पर्कविहीन छन्। विपद्का क्रममा रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम तथा सीमापारि भारतमा गरी कुल १ हजार २९० जनाको शव फेला परेको प्रहरीले जनाएको थियो। फेला परेका शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष थिए भने ५३२ वटा आंशिक अङ्गसहितका शव फेला परेका थिए।

आस्थाको केन्द्र बगेपछि: ध्वस्त सम्पदाको कथा

भोटेकोशीको विनाशकारी बाढीले केवल घर, सडक र पुल बगाएन—यसले पुस्तौंदेखि सञ्चित इतिहास, आस्था र सामूहिक पहिचानको जग पनि हल्लाइदियो। पर्यटनमन्त्री खडकराज पौडेलका अनुसार बाढीका कारण २७ वटा सम्पदा, २ वटा मस्जिद तथा गुम्बा, स्तुपा र मन्दिरहरू क्षतिग्रस्त भएका छन्। पुरातत्व विभागका अनुसार बाढीले तीन जिल्लाका कुल ४८ वटा पुरातात्विक तथा ऐतिहासिक सम्पदामा गम्भीर क्षति पुर्‍यायो, जसमध्ये १८ वटा पूर्ण रूपमा ध्वस्त भए भने ३० वटामा आंशिक क्षति पुग्यो।

रसुवागढीको ऐतिहासिक गढी: दुई शताब्दीको साक्षी

रसुवागढीको ऐतिहासिक गढी नेपाल–तिब्बत सम्बन्धको जीवित साक्षी थियो। सन् १७९२ मा चीन–नेपाल युद्धको दोस्रो अभियानमा यो क्षेत्रमा तीन दिनसम्म लडाइँ भएको थियो। जङ्गबहादुर राणाको पालामा निर्माण भएको यो नाका डेढ शताब्दीको इतिहास बोकेको थियो। तेस्रो नेपाल–चीन युद्धपछि थापाथली सन्धिपछि निर्माण गरिएको यो नाका नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक नाका हो, र यसैको नामबाट ‘रसुवा’ जिल्लाको नामाकरण भएको हो। तिब्बतीयन भाषामा ‘रासोवा’ भनिने यस जिल्लाको अपभ्रंशित रूप ‘रसुवा’ हो। ‘रा’ को अर्थ ‘भेडाच्याङ्ग्रा’ र ‘सोवा’ को अर्थ ‘चराउने वा राख्ने ठाउँ’ हुन्छ—जसले यस क्षेत्रलाई पशुपालनको प्राचीन परम्परासँग जोड्छ।
रसुवागढी निर्माण हुँदा यहाँ तीनवटा गढी बनाइएका थिए: पहिलो फौजीका लागि, दोस्रो कमान्डरका लागि र तेस्रो तोपखानाका लागि। पत्थरको विशाल गढी, जसका पर्खालमा तोपका लागि खाल्डा र राइफलका लागि प्वालहरू थिए, त्यो नेपाली इतिहासको अमूल्य धरोहर थियो। तर बाढीका कारण यस क्षेत्र बगरमा परिणत भएको छ। अधिकांश पुराना संरचनाहरू इतिहासमा सीमित भएका छन्। गढीसँगै नेपाल–चीन जोड्ने मितेरी पुल, भन्सार कार्यालय, विद्युतीय गाडी र कन्टेनर बाढीमा बगे। एकै क्षणमा दुई शताब्दीको इतिहास लेदोमा परिणत भयो।

वेत्रावती: उत्तरगयाधाम र ऐतिहासिक सन्धिको भूमि

बेत्रावती, जसलाई उत्तरगया भनिन्छ, त्रिशूली, वेत्रगंगा र रुद्रगंगा नदीको संगमस्थलमा अवस्थित पवित्र तीर्थ हो। रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावती (उत्तरगयाधाम) मा अवस्थित राममन्दिर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने समयदेखि नै निर्माण भएको हो। भगवान शिवले बेतको लौरोद्वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथनअनुसार यस स्थानको नाम ‘वेत्रवपि’ वा बेत्रवती रहन गएको हो। बोलीचालीमा अपभ्रंश भई बेत्रावती भनिएको छ। यसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ। रसुवा र नुवाकोटका अधिकांश हिन्दु समुदायका मानिसको मृत्युपश्चात यही नदीमा दाहसंस्कार गर्ने परम्परा छ।
सन् १७९२ अक्टोबर २ मा नेपाल–तिब्बत युद्धपछि यही ठाउँमा बेत्रावती सन्धि भएको थियो, जसको सम्झनामा राखिएको सन्धि शिला (Sandhishila) बाढीमा बग्यो। पितृकार्यका लागि गयाको पहिलो विकल्प बेत्रावती नै हो। तर बाढीले यहाँका मन्दिर, पवित्र दाहसंस्कार स्थल र शताब्दीयौं पुराना संरचनाहरू ध्वस्त पारिदियो। बेत्रावती सन्धिको ऐतिहासिक साक्षी मानिने ‘सन्धिशिला’ सुंगुरे ढुंगो समेत बेपत्ता छ। गुठी, चाडपर्वका सामग्री, परम्परागत वाद्ययन्त्र र सामुदायिक अनुष्ठानसँग जोडिएका वस्तुहरू बगे। विस्थापनका कारण परिवारहरूलाई परम्परागत अन्त्येष्टि गर्न समेत कठिन भयो।

त्रिशूलीको राममन्दिर र जालपादेवी मन्दिर

नुवाकोटको ऐतिहासिक त्रिशूली बजारमा रहेको राममन्दिर बाढीले पूर्ण रूपमा ध्वस्त बनायो। यो मन्दिर शताब्दीयौंदेखि स्थानीय नेवार समुदायको आस्थाको केन्द्र थियो, जहाँ रामनवमी र कृष्णजन्माष्टमीमा हजारौं भक्तजन भेला हुने गर्थे। त्यसैगरी जालपादेवी मन्दिर—नुवाकोटकी प्रसिद्ध शक्तिपीठ, जुन पुस्तौंदेखिको आस्थाको प्रतीक थियो—बाढीले गम्भीर क्षति पुर्‍यायो। जालपादेवी मन्दिर देवीघाट क्षेत्रको आध्यात्मिक हृदय थियो, जहाँ नवरात्र र दशैँमा भक्तजनहरूको घुइँचो लाग्थ्यो।

टिमुरेका चैत्य, लाटा देवता मन्दिर र स्याफ्रुबेँसी संग्रहालय

रसुवाको टिमुरेका चैत्यहरू, लाटा देवता मन्दिर र स्याफ्रुबेँसी सामुदायिक संग्रहालय पूर्ण रूपमा नष्ट भए। संग्रहालयमा राखिएका स्थानीय इतिहास, संस्कृति र परम्परासँग जोडिएका अमूल्य सामग्रीहरूमध्ये एउटै पनि बाँकी रहेन।

पदमार्ग सुनसान, होटलहरू भग्नावशेषमा

पर्यटन क्षेत्रमा बाढीले ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्‍यायो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार बाढीका कारण १४२ वटा होटल, ५७ वटा साना रेस्टुरेन्ट र पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारी साधनमा क्षति पुगेको छ। लाङटाङ, गोसाइँकुण्ड, पार्वतीकुण्ड र नाथलीजस्ता प्रमुख ट्रेकिङ मार्ग प्रस्थान गर्ने प्रमुख मार्ग ध्वस्त भयो। लाङटाङ राष्ट्रिय निकुञ्जमा हरेक वर्ष ५० हजारभन्दा बढी पर्यटक पुग्छन्; यो वर्ष त्यो संख्या शून्य हुने निश्चित छ। कैलाश मानसरोवर यात्रा, जुन नेपालका लागि खर्चालु पर्यटक भित्र्याउने महत्त्वपूर्ण माध्यम हो, पूर्णरूपमा प्रभावित बन्यो। मन्त्रालयले बाढीग्रस्त क्षेत्रलाई ‘क्लाइमेट हेरिटेज’का रूपमा विकास गर्ने योजना अघि सारेको छ।

पशुधनको विनाश: किसानको वर्षौंको लगानी पानीसँगै बग्यो

भोटेकोशीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटमा मानवीय क्षतिसँगै पशुपन्छी तथा मत्स्य क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ। पशु सेवा विभागले प्रभावित जिल्लाबाट संकलन गरेको प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रमा १ लाख १६ हजार ५ सय ३९ कुखुरा, ३ हजार ३ सय ४० बाख्रा, १ हजार ५ सय ८३ बंगुर तथा १ हजार ६ सय ४० गाई–भैंसीमा क्षति पुगेको छ। भैंसी–गाई १ हजार ६ सय ४० र माछा २६ हजार ५ सय ८९ नष्ट भएका छन्। राष्ट्रिय योजना आयोग र NDRRMA ले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरएनडीएन) प्रतिवेदनअनुसार पशुपन्छीतर्फ दुई लाख ५२ हजारभन्दा बढी प्रभावित भई रु. एक अर्ब ११ करोड ३९ लाखको क्षति भएको छ, जसमा भैंसी, बाख्रा–च्याङ्ग्रा र गाईगोरुको हिस्सा सबैभन्दा ठूलो छ।

आरएनडीएन प्रतिवेदनले कृषि क्षेत्रमा पनि ठूलो क्षति देखाएको छ। बाढीबाट १ हजार ६६९ हेक्टर धान खेती प्रभावित हुँदा ५ हजार ८४३ टन उत्पादन र १३७ हेक्टर तरकारी खेतीमा करिब १ हजार ८४३ टन उत्पादन नष्ट भएको छ। कृषि क्षेत्रमा कुल एक अर्बभन्दा बढीको क्षति भएको प्रतिवेदनले देखाएको छ।

जंगली जनावर र पंक्षीको बासस्थान विनाश

बाढीले वनजङ्गल र जैविक विविधतामा पनि ठूलो क्षति पुर्‍यायो। भोटेकोशी नदी निकुञ्ज क्षेत्रको सीमा क्षेत्रमा पर्ने र त्यस आसपासका निकुञ्जका रुखहरू र वन्यजन्तुका वासस्थान बगाएको छ।

पहाडी क्षेत्रका सल्ला र उत्तिस तथा तल्लो तटीय क्षेत्रका सालका रुखहरू ढलेर र बगेर नारायणी नदी किनारमा ठूलो मात्रामा थुप्रिए। लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा हिउँ र चट्टानको पहिरो खसेर पूरै उपत्यकालाई प्रभावित गर्‍यो। करिब १,८०० हेक्टर कृषियोग्य भूमि, विशेषगरी धानबाली क्षतिग्रस्त भएको छ भने हजारौँ पशुपन्छी मरेका छन्। रसुवा जडीबुटीका हिसाबले धनी क्षेत्र हो—चिराइतो, पाँचऔंले, बोजो, यार्सागुम्बा, निरमसी, जटामसीजस्ता बहुमूल्य जडीबुटीहरू यहाँ पाइन्छन्। बाढी र पहिरोले जडीबुटी उत्पादन क्षेत्रमा पनि क्षति पुर्‍यायो।

सडक, पुल र ऊर्जाको धाराशायी पूर्वाधार

भवन विभागका अनुसार भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका १५ स्थानीय तहमा सात हजार ५७० सरकारी, सार्वजनिक तथा निजी भवन भत्किएका छन्। भवन विभागका महानिर्देशक रवीन्द्र बोहराका अनुसार नदीको बहावले छोएको ठाउँसम्म अब पक्की भवन तथा आवास निर्माण गर्न मिल्दैन। अब बन्ने भवनलाई सुरक्षित बनाउन नदी सतहभन्दा साढे दुई/तीन सय मिटर माथि नै घर बनाउनुपर्छ। नदीको सतहभन्दा रसुवागढीमा १७० देखि १८० मिटरसम्म, घट्टेखोलामा २०० मिटर र टिमुरेमा ७० मिटरसम्म सतह पार गरेको भवन विभागका इन्जिनियरहरूले गरेको आन्तरिक अध्ययनमा जनाइएको छ। लिङलिङ र स्याफ्रुमा २००/२०० मिटर, हाकुबेंसीमा २२० मिटर, मैलुङ र उत्तरगयामा २५०/२५० मिटरसम्म बाढी पुगेको जनाइएको छ।

ऊर्जा क्षेत्रमा १३ जलविद्युत् आयोजना (करिब ७५९ मेगावाट) र ५ सौर्य आयोजना (२४ मेगावाट) प्रभावित भए। ऊर्जा तथा प्रसारण प्रणाली पुनर्स्थापनाका लागि मात्रै करिब ३ खर्ब ९० अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ। भग्नावशेष हटाउन र व्यवस्थापन गर्न करिब ९५ अर्ब रुपैयाँ लाग्ने देखिन्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्छ।

किन ढिलो भयो चेतावनी?

यो विपद् पूर्ण रूपमा रोक्न सम्भव नभए पनि क्षति निकै कम गर्न सकिन्थ्यो। जलाधारको ६० प्रतिशतभन्दा बढी भाग चीनमा पर्ने हुँदा सीमापार वास्तविक समयको जल तथा मौसम डेटा आदानप्रदान नभएकै कारण नेपालले ढिलो सूचना पायो। सुनिएअनुसार रसुवाका तत्कालीन प्रमुख जिल्ला अधिकारीका लापरवाहीका कारण वा उनले सूचना प्रवाह समयमा नगरेको कारण मानवीय क्षति बढी भएको गुनासो पनि आइरहेको छ। नेपालको विद्यमान प्रणाली मुख्यतः वर्षा र नदीको जलस्तरमा आधारित छ, जसले हिमताल विस्फोटजन्य अचानक बाढी पहिचान गर्न सक्दैन।

रसुवाको नाका, घट्टेखोला, टिमुरे र स्याफ्रुबेंसीमा खबरै नपाई धेरैलाई बाढीले बगायो; त्यसभन्दा पछिका स्थानहरूमा खबर हुँदाहुँदै पनि मानिसकै हेलचेक्र्याईका कारण ज्यान गएको बुझिएको छ। सूचना प्रवाह गर्दै हिँड्ने कर्मचारी, प्रहरीले पनि बाढीको अवस्था बुझ्न नसकेको प्रष्ट हुन्छ, किनकि उनीहरूलाई नै बगाएको अवस्था छ। बाढी मात्र भनियो तर कत्रो बाढी भनिएन; कतिपयले बाढी नपत्याएको वा पोहोर पनि आएकै हो भनेका पनि सुनियो; कतिले बाढी हेर्न गएकै कारण पनि ज्यान गुमाए। यसले समुदायहरूलाई थप सचेत गराउनुपर्ने पाठ सिकाएको छ। परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने हुँदा नयाँ किसिमका प्रणाली अपनाउनुपर्नेछ।

पुनर्निर्माणको बाटो

अबको पुनर्निर्माण ‘पहिलेभन्दा राम्रो बनाउने’ सिद्धान्तमा आधारित हुनुपर्छ। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन प्रारम्भिक पुनःस्थापना तथा आवश्यक काम गर्ने योजना बनाएको छ। सांस्कृतिक सम्पदा पुनर्स्थापनाका लागि क्षतिग्रस्त सम्पदाको अभिलेखीकरण, जोखिमपूर्ण अवशेषको स्थिरीकरण, भग्नावशेष हटाउँदा कलाकृति संरक्षण, स्थल-विशेष संरक्षण योजना, परम्परागत सामग्री र शिल्प प्रयोग तथा समुदायको सहभागितामा पुनर्निर्माण आवश्यक छ।

निष्कर्ष: आँसुबाट आशातर्फ

भोटेकोशीको बाढीले नेपालको हिमाली विपद् व्यवस्थापनमा गम्भीर संरचनात्मक कमजोरी उजागर गर्‍यो। यो विपद् पूर्ण रूपमा प्राकृतिक थिएन; यसमा जलवायु संकट, सीमापार सूचना अभाव, कमजोर पूर्वचेतावनी, जोखिमयुक्त पूर्वाधार र अपर्याप्त तयारीको भूमिका थियो। तर यो कथा केवल विनाशको कथा होइन। १ हजार ४५१ जनाको मृत्यु, ५ हजार ७०५ जना बेपत्ता र १३ हजार ७९५ जनाको उद्धार—यी संख्याहरूले एउटा कुरा प्रस्ट पार्छन्: हामीले अब पनि पुरानै शैलीमा ‘क्षति भएपछि मात्र’ प्रतिकार्य गर्‍यौं भने अर्को हिमताल विस्फोट वा हिमपहिरोले फेरि उही पीडा दोहोर्‍याउनेछ। रसुवागढीको गढी नेपाल–तिब्बत सम्बन्धको प्रतीक थियो, बेत्रावतीको सन्धि शिलाले दुई देशबीचको ऐतिहासिक सम्झौताको साक्षी दिन्थ्यो, राममन्दिर र जालपादेवी मन्दिरले पुस्तौंदेखिको आस्था बोकेका थिए। यी सबैको क्षति भौतिक मूल्याङ्कनभन्दा धेरै गहिरो छ। तर यो क्षति केवल भवनको होइन, यो पुस्तौंको स्मृति, आस्था र पहिचानको हो। यसको पुनर्स्थापना गर्दा इतिहासको सम्मान, संस्कृतिको संरक्षण र समुदायको सहभागितालाई एकसाथ साध्नुपर्छ। नदीको स्वभाव रोक्न सकिँदैन, तर जोखिम शासन सुधार्न सकिन्छ। यही सुधार नै भोटेकोशीजस्ता घटनाबाट सिकेको सबैभन्दा ठूलो पाठ हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लेखहरू

📢

🏔️ आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुहोस्

यहाँ विज्ञापन गरी आफ्नो व्यवसायलाई
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकसम्म पुर्याउनुहोस्

✓ हजारौं पर्यटकले हेर्ने पृष्ठ
✓ सबै गन्तव्य पृष्ठहरूमा प्रदर्शन
✓ आकर्षक डिजाइन र फुल प्रोफेशनल लुक
📞 सम्पर्क गर्नुहोस् : ९८४३५०८४७०

⭐ विशेष छुटको लागि आजै सम्पर्क गर्नुहोस् ⭐